म पावल येशू ख्रीष्टको दास हुँ। उहाँले मलाई आफ्नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो। धेरै वर्षअघि परमेश्वरले सुसमाचार दिन्छु भन्ने प्रतिज्ञा गर्नुभयो। यही प्रतिज्ञा अगमवक्ताहरूले पवित्र धर्मशास्त्रमा लेखेका थिए। त्यो सुसमाचारचाहिँ परमेश्वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्मिनुभयो। पवित्र आत्माले देखाउनुभएअनुसार उहाँ परमेश्वरको शक्तिशाली पुत्र पनि हुनुहुन्छ। यो कुरा उहाँ मरेर पनि बिउँतिएकोले प्रकट गर्छ। हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरले मलाई अनुग्रह देखाएर आफ्नो विशेष दूत बनाउनुभयो। सबै जातिका मानिसहरूले विश्वास गरेर उहाँले भनेका कुरा मानून् भनी म उहाँका नाउँमा खटाइएको हुँ। तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ। रोमवासीहरूमध्ये परमेश्वरले प्रेम गरेर उहाँको पवित्र जन हुन बोलाइएकाहरू हो, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। तिमीहरूले ख्रीष्टमाथि गरेको विश्वासबारे सम्पूर्ण दुनियाँलाई थाहा छ। यसकारण पहिले म तिमीहरू सबैका लागि येशू ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु। उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्वर आफैंले गवाही दिनुहुन्छ। परमेश्वरको इच्छाअनुसार अब तिमीहरूलाई भेट्न सकूँ भनेर म उहाँलाई बिन्ती चढाउँदै छु। पवित्र आत्माले दिनुभएको आशिष् बाँडेर ख्रीष्टमा दरिलो बनाउन तिमीहरूलाई भेट्ने मेरो साह्रै इच्छा छ। मेरो विश्वासले तिमीहरूलाई र तिमीहरूको विश्वासले मलाई आपसमा बल मिलोस् भन्ने मेरो इच्छा हो। प्यारा दाजुभाइहरू, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु: धेरै पल्ट मैले तिमीहरूलाई भेट्ने विचार गरें तर कुनै न कुनै कारणले गर्दा सकिनँ। म अरू ठाउँका मानिसहरूबाट झैँ तिमीहरूबाट पनि परमेश्वरको असल भक्ति भएको देख्न चाहन्छु किनभने मलाई सभ्य-असभ्य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ। त्यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्छा छ। मलाई यो सुसमाचार सुनाउन लाज लाग्दैन कारण विश्वास गर्ने जति पहिले यहूदी अनि अन्यजातिका मानिसलाई यो सुसमाचार परमेश्वरको मुक्ति दिने शक्ति हो। सुसमाचारले मानिसलाई परमेश्वरले आफ्नो सामु कसरी ठीक ठहराउनुहुन्छ भन्ने देखाउँछ अनि परमेश्वरसँग ठीक ठहरिने कुरा विश्वासबाटै सुरु हुन्छ र विश्वासबाटै पूरा पनि हुन्छ। यस्तै धर्मशास्त्रले पनि भन्छ, “जो विश्वासद्वारा परमेश्वरसँग ठीक ठहरिन्छ, त्यही मानिसले नै जीवन पाउँछ,।”
रोमी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 1:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू