भजनसंग्रह 68
68
विजयको राष्ट्रिय गीत
1परमेश्वरले उठ्नुभएर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुहुन्छ,
उहाँलाई घृणा गर्नेहरू हारेर भाग्छन्।
2उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्छ,
आगोको अघि मैन बिलाएझैँ दुष्टहरू परमेश्वरको सामु नष्ट हुन्छन्।
3तर धर्मीहरू उहाँको अघि आनन्द गरेर रमाउनेछन्,
तिनीहरू प्रसन्न हुन्छन् र आनन्दले स्वर उचाल्छन्।
4परमेश्वरको स्तुति गर, उहाँको नाममा प्रशंसा गाओ,
बादलमा सवारी भई आउनुहुनेको निम्ति एउटा बाटो तयार गर।
उहाँको नाम परमप्रभु हो, उहाँको उपस्थितिमा आनन्दित होओ।
5परमेश्वरले आफ्नो पवित्र मन्दिरमा बास गर्नुहुने
टुहुरा-टुहुरीको वास्ता गर्नुहुन्छ
र विधवाहरूको रक्षा गर्नुहुन्छ।
6उहाँले एक्लो मानिसलाई बस्ने घर दिनुहुन्छ
र कैदीहरूलाई छुटकारा दिएर आनन्द दिनुहुन्छ।
तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ।
7हे परमेश्वर! जब तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो,
जब तपाईंले मरुभूमि पार गर्नुभयो,
8 #
प्रस्थान 19:18
तब पृथ्वीमा भूइँचालो गयो
र आकाशबाट बृष्टि भयो
किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो।
9तपाईंले प्रशस्त बृष्टि दिनुभएर
रूखो जमिन मलिलो पार्नुभयो।
10तपाईंका प्रजाले त्यहाँ आफ्ना घर बनाए
र आफ्नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो।
11प्रभुले आज्ञा दिनुभयो
र धेरै स्त्रीहरूले यस्तो खबर सुनाए:
12“राजाहरू आफ्ना सेनासहित भागिरहेका छन्!”
घरका स्त्रीहरूले लुटी ल्याएका चीजबीजहरू बाँड-चुँड गरे:
13चाँदीले मोहोडेका परेवाका मूर्तिहरू,
जसका पखेटामा निखुर सुन जडेका थिए, त्यस्ता वस्तुहरू बाँड-चुँड गरे।
(किन लडाइँका दिनमा तिमीहरूमध्ये कति जना भेडाका गोठमा बसिरह्यौ?)
14सर्वशक्तिमान् परमेश्वरले राजालाई सल्मोन पहाडमा छरपष्ट पार्नुहुँदा
त्यहाँ हिउँ बर्साउनुभयो।
15बाशान कति महान् पर्वत छ!
त्यस पर्वतमा धेरै चुचुराहरू छन्!
16तिमी बसेको अग्लो चुचुरादेखि
परमेश्वरले आफू बस्न रोज्नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ?
परमप्रभु त्यहाँ सदासर्वदा बास गर्नुहुनेछ।
17आफ्ना हजारौं बलिया रथका साथ
प्रभु सीनैदेखि आफ्नो पवित्र बासस्थानमा आउनुहुन्छ।
18 #
एफिसी 4:8
धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्ला पर्वतमा जानुहुन्छ,
विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्।
परमप्रभु परमेश्वर त्यहाँ बास गर्नुहुनेछ।
19दिन दिनै हाम्रा बोझ बोकिदिनुहुने
प्रभुको प्रशंसा गर।
उहाँ हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ।
20हाम्रा परमेश्वर हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ,
उहाँ हामीलाई मृत्युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्छ।
21आफ्नै पापी चालमा चलिरहने शत्रुहरूका टाउकाहरू
परमेश्वरले साँच्चै फुटाउनुहुनेछ।
22परमप्रभुले भन्नुभएको छ,
“म तिम्रा शत्रुहरूलाई बाशानदेखि र समुद्र तलदेखि फर्काई ल्याउनेछु
23र तिनीहरूका रगतमा तिमीहरू पाइला चालेर हिँड्नेछौ
र तिम्रा कुकुरहरूले चाहेजति रगत चाट्नेछन्।”
24हे परमेश्वर! तपाईंको विजय यात्रा,
परमेश्वर मेरा राजाको आफ्नो पवित्रस्थानमा विजय सवारी सबैले देखेका छन्।
25अघि-अघि गवैयाहरू, पछि-पछि बाजा बजाउनेहरू छन्
र बीचमा खैँजडी बजाउने ठिटीहरू छन्।
26“हे याकूबका सन्तान हो! परमप्रभुको प्रशंसा गर!
उहाँका आफ्ना प्रजा भेला भएका सभामा परमेश्वरको प्रशंसा गर!”
27पहिले सबैभन्दा सानो बेन्यामीन कुल आउँछ,
त्यसपछि यहूदा कुलका अगुवाहरू आफ्ना झुण्डसहित आउँछन्,
तिनका पछि-पछि जबूलून र नप्ताली कुलका अगुवाहरू आउँछन्।
28-29हे परमेश्वर! आफ्नो शक्ति देखाउनुहोस्।
यरूशलेमको मन्दिर, जहाँ राजाहरूले तपाईंलाई भेटी चढाउँछन्,
त्यहाँदेखि तपाईंले हाम्रो पक्षमा चलाउनुभएको शक्ति देखाउनुहोस्।
30त्यो निगालोका बीचमा भएको जङ्गली जनावरजस्तो मिश्रदेशलाई,
साँढे र तिनका बाछाहरूका बथानजस्ता जाति-जातिलाई हकार्नुहोस्,
दण्डवत् गरेर आफ्ना चाँदीहरू तपाईंलाई नचढाउञ्जेलसम्म तिनीहरूलाई हकार्नुहोस्।
लडाइँ गर्न रुचाउनेहरूलाई छरपष्ट पार्नुहोस्!
31राजदूतहरू मिश्रदेखि आउनेछन्,
कूशले परमेश्वरलाई हात उचालेर प्रार्थना गर्नेछन्।
32हे संसारका राज्यहरू हो!
परमेश्वरको स्तुति गाओ,
33प्राचीनकालदेखिका आकाशमा सवार हुनुहुने
परमप्रभुको प्रशंसा गाओ।
उहाँ उच्च स्वरले कराउनुभएको सुन।
34परमेश्वरको सामर्थ्यबारे स्वर उचालेर भन,
उहाँको गौरव इस्राएलमाथि छाएको छ,
उहाँको सामर्थ्य आकाशमा फैलिएको छ।
35इस्राएलका परमेश्वर आफ्ना मन्दिरदेखि आउनुहुँदा
कति डरलाग्दो देखिनुहुन्छ!
उहाँले आफ्ना प्रजालाई शक्ति र बल दिनुहुन्छ।
परमेश्वरको प्रशंसा गर!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 68: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.