YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 44:1-26

भजनसंग्रह 44:1-26 सरल नेपाली

हे परमेश्‍वर! धेरै समयअघि तपाईंले गर्नुभएको महान् कामबारे हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुरा हामीले आफ्‍नै कानले सुनेका छौं। कि कसरी तपाईंले अविश्‍वासीहरूलाई धपाउनुभयो र आफ्‍नै प्रजालाई तिनीहरूका देशमा बसाल्‍नुभयो। कसरी तपाईंले अरू जातिहरूलाई दण्‍ड दिनुभयो र आफ्‍ना जातिको फलिफाप गराउनुभयो। तपाईंका प्रजाले आफ्‍नो तरवारले देश जितेनन्, आफ्‍नै शक्तिले तिनीहरूले जितेनन्। तपाईंका बल र सामर्थ्‍यले र तपाईं तिनीहरूसँग हुनुहुन्‍छ भन्‍ने ज्ञानको निश्‍चयताद्वारा तिनीहरूले जितेका हुन्, किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो। तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्‍छ, आफ्‍ना प्रजालाई तपाईं विजय दिनुहुन्‍छ र तपाईंको सामर्थ्‍यले हामीले आफ्‍ना शत्रुहरूलाई हराएका छौं। आफ्‍नो बचाउको लागि म आफ्‍ना तरवार र धनु, काँडमा भरोसा राख्‍दिनँ। तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो र हामीलाई घृणा गर्नेहरूलाई हराउनुभयो। हामी सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौं र तपाईंलाई सधैँ धन्‍यवाद चढाउँछौं। तर अब तपाईंले हामीलाई इन्‍कार गर्नुभएको छ र हाम्रो हार हुन दिनुभएको छ। हाम्रा सेनाहरूका साथ तपाईं हिँड्‍नुहुन्‍न। तपाईंले हाम्रा शत्रुहरूको सामुबाट हामीलाई भाग्‍न लगाउनुभयो र हाम्रा सर-सम्‍पत्ति तिनीहरूले आफ्‍ना बनाए। तपाईंले हामीलाई भेडाहरूझैँ मारिनलाई दिनुभयो, हामीलाई विदेशभरि छरपष्‍ट पार्नुभयो। तिनीहरूको केही मूल्‍य नभएको जस्‍तो गरेर तपाईंले सस्‍तैमा आफ्‍ना प्रजालाई बेचिदिनुभयो। तपाईंले हामीसँग के गर्नुभयो, सो हाम्रा छिमेकीहरूले देख्‍नेछन् र तिनीहरूले हामीलाई खिसी गर्छन् र हाम्रो हाँसो उडाउँछन्। तपाईंले हामीलाई जातिहरूको बीचमा घृणाको पात्र बनाउनुभएको छ, हामीलाई देखेर हेला गर्दै तिनीहरूले आफ्‍ना टाउका हल्‍लाउँछन्। मेरो सधैँ बदनाम भएको छ र मेरो शत्रु र मलाई घृणा गर्नेहरूको बदनाम र खिसीका कुरा सुन्‍दा-सुन्‍दा म लाजमा परेको छु। हामीले तपाईंलाई भुलेका छैनौं अथवा तपाईंले हामीसँग गर्नुभएको करार तोडेका छैनौं, तापनि यी सबै हामीमाथि आइपरेका छन्। हामीले आफ्‍नो भक्ति तपाईंबाट हटाएका छैनौं, हामीले तपाईंको आज्ञा तोडेका छैनौं। तापनि तपाईंले जङ्गली जनावरको बीचमा हामीलाई असहाय छोड्‍नुभयो, घोर अन्‍धकारमा तपाईंले हामीलाई त्‍याग्‍नुभयो। यदि हामीले आफ्‍ना परमेश्‍वरलाई पुज्‍न छोडेका भए, अन्‍य देवतालाई प्रार्थना गरेका भए तपाईंले निश्‍चय चाल पाउनुहुनेथियो किनभने तपाईंले हाम्रा गुप्‍त सोचविचारहरू जान्‍नुहुन्‍छ। तर तपाईंको खातिर हरसमय हाम्रो हत्‍या भइरहेको छ र काट्‍न ल्‍याइएका भेडाहरूजस्‍तै हामीसित व्‍यवहार गरिन्‍छ। उठ्‍नु होस्! प्रभु, तपाईं किन निदाउनुभयो? ब्युँझनुहोस्! हामीलाई सधैँभरि नत्‍याग्‍नुहोस्। तपाईं किन हामीदेखि लुक्‍दै हुनुहुन्‍छ? हाम्रा दु:ख र कष्‍ट नभुल्‍नुहोस्। भूइँमा चकनाचुर भएर हामी लडेका छौं। हार भएर हामी धुलोमा सुतेका छौं। हाम्रा सहायताको लागि आउनुहोस्! आफ्‍नो अटुट प्रेमको कारणले हामीलाई बचाउनुहोस्।

भजनसंग्रह 44 पढ्नुहोस्