YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 22

22
दु:खको चित्‍कार र स्‍तुति गान
1 # मत्ती 27:46; मर्कूस 15:34 हे मेरा परमेश्‍वर! हे मेरा परमेश्‍वर! तपाईंले मलाई किन त्‍याग्‍नुभयो?
मैले सहायताको लागि धेरै पुकारा गरेको छु,
तर अझै पनि सहायता पाएको छैन।
2हे मेरा परमेश्‍वर!
दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्‍न,
म राती पुकार्छु
तर केही विश्राम पाउँदिनँ।
3तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्‍छ,
इस्राएलले तपाईंको प्रशंसा गर्दछ।
4हाम्रा पुर्खाहरूले तपाईंमा भरोसा गरे,
तिनीहरू तपाईंमा भर परे र तपाईंले तिनीहरूलाई बचाउनुभयो।
5तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे,
तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन।
6तर मचाहिँ अब मानिस रहिनँ, म एउटा किरासरि हुँ,
सबैले मलाई हेला र घृणा गर्छन्।
7 # मत्ती 27:39; मर्कूस 15:29; लूका 23:35 मलाई देख्‍ने सबैले मेरो खिसी गर्छन्,
तिनीहरूले मलाई ओठ लेब्‍र्‍याउँछन् र टाउका हल्‍लाउँछन्।
8 # मत्ती 27:43 तिनीहरू भन्‍छन्, “तिमी परमप्रभुमा भर पर्‍यौ।
किन उहाँले तिमीलाई बचाउनुहुन्‍न?
परमप्रभुले तिमीलाई मन पराउनुहुन्‍छ भने
किन उहाँले तिम्रो मद्दत गर्नुहुन्‍न?”
9म जन्‍मँदा तपाईंले मलाई जोगाएर ल्‍याउनुभयो
र म बालक छँदा मलाई तपाईंले कुशल राख्‍नुभयो।
10जन्‍मेको दिनदेखि म तपाईंमा भर परेको छु
र तपाईं सधैँ मेरो परमेश्‍वर हुनुभएको छ।
11मदेखि टाढा नहुनुहोस्।
म कष्‍टको मुखैमा छु
र मलाई सहायता गर्ने कोही पनि छैन।
12धेरै शत्रुले मलाई साँढेहरूले झैँ घेरेका छन्,
मेरा चारैपट्टि तिनीहरू बाशान देशका डरलाग्‍दा साँढेझैँ छन्।
13सिंहझैँ गर्जंदै तिनीहरूले मलाई
च्‍यातचुत पार्न आफ्‍ना मुख बाउँछन्।
14मेरो शक्ति हराएको छ,
जमिनमा पोखिएको पानीजस्‍तै त्‍यो हराएको छ।
मेरा हड्डीका जोर्नीहरू फुस्‍केका छन्,
मेरो हृदय पग्‍लेको मैनजस्‍तै भएको छ।
15मेरो घाँटी धुलोजस्‍तै सुखा भएको छ
र मेरो जिब्रो तालुमा टाँसिन्‍छ।
मरेको भन्‍ठानी तपाईंले मलाई धुलोमा छोडिराख्‍नुभएको छ।
16दुष्‍टको एक हुल मेरो चारैपट्टि छ,
कुकुरका बथानले जस्‍तै तिनीहरू नजिक आएर मलाई घेर्छन्
र तिनीहरूले मेरा हात र खुट्टा चिथोर्छन्।
17मेरा सबै हड्डीहरू देखिन्‍छन्,
मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्‍छन्।
18 # मत्ती 27:35; मर्कूस 15:24; लूका 23:34; यूहन्‍ना 19:24 मेरो लुगा चिठ्ठा हालेर
तिनीहरू आपसमा बाँड्छन्।
19हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्।
मलाई बचाउन चाँडो आउनुहोस्।
20तरवारदेखि मलाई बचाउनुहोस्,
यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्।
21यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्,
यी जङ्गली साँढेहरूका सामु म असहाय छु।
22 # हिब्रू 2:12 तपाईंले के गर्नुभएको छ, त्यो मेरा मानिसहरूलाई सुनाउनेछु;
तिनीहरूका सभाबीच म तपाईंको प्रशंसा गर्नेछु।
23“हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर!
हे याकूबका सन्‍तानहरू हो, उहाँको आदर गर!
हे इस्राएलीहरू हो, उहाँको आराधना गर!
24उहाँले गरीबहरूलाई तुच्‍छ ठान्‍नुहुन्‍न,
तिनीहरूका कष्‍टलाई घृणा गर्नुहुन्‍न,
तिनीहरूदेखि उहाँले आफ्‍नो मुख फर्काउनुहुन्‍न।
तर तिनीहरूले मद्दतको निम्‍ति पुकार्दा उहाँले उत्तर दिनुहुन्‍छ।”
25तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा
म तपाईंको प्रशंसा गर्नेछु,
तपाईंलाई पुज्‍नेहरूको सामु
म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु।
26गरीबले आफूले भनेजति खान पाउनेछ,
परमप्रभुकहाँ आउनेहरूले उहाँको प्रशंसा गर्नेछन्,
सदासर्वदा तिनीहरूको फलिफाप होस्।
27सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्।
संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्।
वंश-वंशले उहाँलाई पुज्‍नेछन्।
28परमप्रभु राजा हुनुहुन्‍छ
र उहाँले जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ।
29सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्,
सबै मरणशील मानिसहरूले,
उहाँका अघि शिर झुकाउनेछन्।
30आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्,
मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्‍नेछन्।
31आजसम्‍म नजन्‍मिएका मानिसहरूलाई तिनीहरूले भन्‍नेछन्,
“परमप्रभुले आफ्‍ना प्रजालाई बचाउनुभयो।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 22: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्