YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:30-50

भजनसंग्रह 18:30-50 सरल नेपाली

परमेश्‍वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्‍ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्‍नेहरूका निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ। परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ, परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ। उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्‍वर हुनुहुन्‍छ। पहाडमा उहाँले मलाई कुशलसाथ राख्‍नुहुन्‍छ र मेरा खुट्टा मृगका जस्‍ता ठीक पाइला चाल्‍ने बनाउनुहुन्‍छ। मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्‍छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ। तपाईंले मलाई कैदी बन्‍नदेखि बचाउनुभएको छ, म कहिल्‍यै लडेको छैनँ। म शत्रुलाई खेदेर पक्रन्‍छु, तिनीहरूलाई नाश नपारुञ्‍जेलसम्‍म म थामिन्‍नँ। म तिनीहरूलाई तरवारले हान्‍छु र तिनीहरू उठ्‍न सक्‍दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्‍छ। मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्‍छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। तिनीहरू मद्दतको लागि चिच्‍याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्‍न। म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्‍ता हुन्‍छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्‍चन्‍छु। तपाईंले मलाई विद्रोहीहरूदेखि बचाएर जाति-जातिहरूमाथि राजा बनाउनुभयो, मैले नचिनेका मानिसहरू मेरा प्रजा बनेका छन्। विदेशीहरू मेरा अघि निहुरिन्‍छन्, मेरा वचन सुन्‍छन् र पालन गर्छन्। साहस हराएर तिनीहरू आफ्‍ना गढीहरूदेखि काम्‍दै निस्‍कन्‍छन्। परमप्रभु जीवित हुनुहुन्‍छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्‍वरको महान्‌ताको बारेमा सबैलाई भन। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्‍छ, र मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्‍छ। हे परमप्रभु! तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ र हिँसा गर्ने मानिसबाट मेरो रक्षा गर्नुहुन्‍छ। यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्‍तुति गाउँछु। परमेश्‍वरले आफ्‍ना राजाहरूलाई ठूल्‍ठूला विजय दिनुहुन्‍छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्‍त प्रेम गर्नुहुन्‍छ, उहाँले दाऊद र उसका सन्‍तानलाई सदासर्वदा प्रेम गर्नुहुन्‍छ।

भजनसंग्रह 18 पढ्नुहोस्