YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 132:1-18

भजनसंग्रह 132:1-18 सरल नेपाली

हे परमप्रभु, दाऊद र उनले भोगेका सबै कष्‍टहरू नभुल्‍नुहोस्। उनले जे प्रतिज्ञा गरे, त्‍यो याद गर्नुहोस्, उनले जुन भाकल याकूबका सामर्थी परमेश्‍वरसँग गरे, “म घर जानेछैनँ वा सुत्‍नेछैनँ, म विश्राम लिनेछैनँ वा निदाउनेछैनँ, जबसम्‍म म परमप्रभुको लागि एउटा बासस्‍थान तयार गर्न सक्‍दिनँ, याकूबका सामर्थी परमेश्‍वरको लागि एउटा भवन।” हामीले बेथलेहेममा करारको सन्‍दुकबारे सुन्‍यौं र याआरका मैदानमा त्‍यसलाई पायौं। हामीले भन्‍यौं, “हामी परमप्रभुको भवनमा जाऔं, उहाँका सिंहासनअघि हामी उहाँलाई दण्‍डवत् गरौं।” हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यको चिन्‍ह करारको सन्‍दुकसाथ लिई तपाईं मन्‍दिरमा आउनुहोस् र त्‍यहाँ सदासर्वदा बास गर्नुहोस्। जे ठीक छ, त्‍यही तपाईंका पूजाहारीहरूले सधैँभरि गरिरहून् र तपाईंका जनहरूले आनन्‍दले जयजयकार गरून्! तपाईंले आफ्‍नो दास दाऊदसँग प्रतिज्ञा गर्नुभयो, आफूले चुन्‍नुभएको राजालाई अस्‍वीकार नगर्नुहोस्, परमप्रभु! तपाईंले दाऊदसँग एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो; यो प्रतिज्ञा कहिल्‍यै तपाईं फिर्ता लिनुहुनेछैन: “म तेरो छोराहरूमध्‍ये एउटालाई राजा बनाउनेछु, तँपछि त्‍यसले राज्‍य गर्नेछ। यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्‍ति राजा हुनेछन्।” परमप्रभुले सियोनलाई चुन्‍नुभयो, उहाँले त्‍यसलाई आफ्‍नो बासस्‍थान बनाउन चाहनुहुन्‍छ: “यही ठाउँमा म सदासर्वदा बास गर्नेछु, यहीँ म राज्‍य गर्न चाहन्‍छु। सियोनलाई चाहिएका सबै थोक म प्रसस्‍त गरी दिनेछु, त्‍यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु। त्‍यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्‍यहाँका मानिसहरू आनन्‍दले गाउनेछन् र उच्‍च सोरले जयजयकार गर्नेछन्। त्‍यहाँ म दाऊदका सन्‍तानका एउटालाई महान् राजा बनाउनेछु, त्‍यहीँ मैले चुनेको राजाको राज्‍य म कायम राख्‍नेछु। त्‍यसका राज्‍यको फलिफाप हुनेछ, तर त्‍यसका शत्रुहरूलाई भने म लाजमा पार्नेछु।”

भजनसंग्रह 132 पढ्नुहोस्