YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:1-32

भजनसंग्रह 119:1-32 सरल नेपाली

निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्‍यवस्‍थाअनुसार आफ्‍नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्‍छन्। उहाँका आज्ञाअनुसार हिँड्‍नेहरू खुसी रहन्‍छन्, जसले आफ्‍ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्‍यै गल्‍ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्। परमप्रभु, तपाईंले हामीलाई आफ्‍ना व्‍यवस्‍था दिनुभएको छ, र तिनलाई विश्‍वासयोग्‍यतासाथ मान्‍न आज्ञा गर्नुभएको छ। तपाईंका शिक्षाहरू विश्‍वासयोग्‍यतासाथ पालन गर्न सकूँला भन्‍ने मेरो ठूलो आशा छ। तपाईंका सबै आज्ञाहरूमा मैले ध्‍यान दिएँ भने मलाई लाज हुनेछैन। तपाईंका उचित धार्मिक न्‍यायको विषयमा मैले सिक्‍दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु। म तपाईंका व्‍यवस्‍थाहरू मान्‍नेछु; मलाई कहिल्‍यै नत्‍याग्‍नुहोस्! युवाहरूले आफ्‍नो जीवन कसरी पवित्र राख्‍न सक्‍छन्‌? तपाईंका आज्ञाहरू मानेर नै। मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्‌घन गर्नदेखि बचाउनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्‍नो हृदयमा राख्‍दछु। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु, मलाई तपाईंका चालमा चल्‍न सिकाउनुहोस्। तपाईंले दिनुभएका सारा व्‍यवस्‍थाहरू दोहोर्‍याएर जोडले भन्‍नेछु। ठूलो सम्‍पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्‍न म आनन्‍द पाउँछु। म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्‍द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्‍नेछैनँ। आफ्‍नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्‍नेछु। मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्‍यवस्‍थामा उदेकका सत्‍यताहरू देख्‍न सकूँ। म थोरै समयको लागि यस पृथ्‍वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्‍न चाहन्‍छु, ती जान्‍नलाई मेरो मन छट्‌पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्‍छ, तपाईंको आज्ञा नमान्‍नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्‍यवस्‍थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्‍द पाउँदछु, तिनमा मैले सल्‍लाहका कुरा पाउँदछु। म हारेर माटोमा लडिरहेको छु, तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार मलाई फेरि उठाउनुहोस्। मैले गरेका सबै कुराको लागि म कायल भएँ र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका चालमा चल्‍न सिकाउनुहोस्। मलाई तपाईंका व्‍यवस्‍थाहरू बुझ्‍न सहायता गर्नुहोस् र म तपाईंका उदेकका शिक्षामा ध्‍यान दिनेछु। म अफसोसले विह्वल भएको छु, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस्। मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्‍छ र मलाई आफ्‍ना व्‍यवस्‍था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्‍न रोजेको छु; मैले तपाईंको न्‍यायमा ध्‍यान दिएको छु। परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्। म उत्‍सुक भएर तपाईंका आज्ञाहरू मान्‍नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्‍छ।

भजनसंग्रह 119 पढ्नुहोस्