YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 108:1-13

भजनसंग्रह 108:1-13 सरल नेपाली

हे परमेश्‍वर, तपाईंमाथि मेरो पूरा भरोसा छ! म भजन गाएर तपाईंको प्रशंसा गर्छु! हे मेरो प्राण, जागी उठ्! हे मेरो वीणा र सितार, जाग्! म घामलाई जगाउनेछु। हे परमप्रभु, म जातिहरूका बीचमा तपाईंलाई धन्‍यवाद दिनेछु र जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्नेछु। तपाईंको अटुट प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ, तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ। हे परमेश्‍वर! आफ्‍नो महान्‌ता आकाशमा र सारा संसारमा आफ्‍नो महिमा देखाउनुहोस्। आफ्‍नो सामर्थ्‍यले हामीलाई बचाउनुहोस्, मेरो प्रार्थनाको उत्तर दिनुहोस् र तपाईंले प्रेम गर्नुभएका मानिसहरूले उद्धार पाऊन्। आफ्‍नो पवित्र स्‍थानदेखि परमेश्‍वरले भन्‍नुभएको छ, “विजय गरेर म शकेमलाई विभाजन गर्नेछु र सुक्‍कोतका बेँसी मेरा प्रजाका बीच बाँडिदिनेछु। गिलाद मेरो हो, मनश्‍शे पनि मेरो हो, एफ्राइम मेरो शिरको मुकुट हो र यहूदा मेरो राजदण्‍ड हो। मोआबलाई म हात चुठ्‍ने भाँडो बनाएर चलाउनेछु, एदोम मेरो हो भन्‍ने चिन्‍ह दिएर म त्‍यसलाई आफ्‍ना जुत्ताले हान्‍नेछु, पलिश्‍तीहरूमाथि विजय गरेर म उच्‍च स्‍वरले कराउनेछु।” हे परमेश्‍वर! कसले मलाई पर्खालले घेरेका सहरमा पुर्‍याउला? कसले मलाई एदोममा पुर्‍याउला? के साँच्‍चै तपाईंले हामीलाई इन्‍कार गर्नुभयो? के तपाईं हाम्रा सेनाहरूसँग हिँड्‍नुहुन्‍न? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, मानिसको सहायता व्‍यर्थ छ। परमेश्‍वर हामीतर्फ हुनुभएकोले हामी जित्‍नेछौं, उहाँले हाम्रा शत्रुहरूको हार गराउनुहुनेछ।

भजनसंग्रह 108 पढ्नुहोस्