YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 108:1-13

भजनसंग्रह 108:1-13 NNRV

हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, र मेरो सम्‍पूर्ण प्राणले म राग बजाउनेछु। हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु। हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु। किनकि तपाईंको करुणा महान्‌ छ, स्‍वर्गभन्‍दा पनि उच्‍च छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ। हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌। तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌। परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतका बेँसी नापेर छुट्ट्याउनेछु। गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो। मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु। पलिश्‍तमाथि म विजयसाथ कराउँछु।” कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला? हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न? शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ। परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।