भजनसंग्रह 107
107
पाँचौ भाग
(भजनसंग्रह १०७—१५०)
परमेश्वरको भलाइबारे प्रशंसा
1 #
१ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 106:1; 118:1; 136:1; यर्मिया 33:11 “परमप्रभुलाई धन्यवाद चढाओ
किनभने उहाँ असल हुनुहुन्छ,
उहाँको प्रेम अमर छ!”
2तिमीहरूले, ज-जसलाई उहाँले बचाउनुभएको छ,
यी कुराहरू परमप्रभुको प्रशंसामा दोहोर्याएर भन।
उहाँले तिमीहरूलाई आफ्ना शत्रुहरूदेखि बचाउनुभएको छ,
3उहाँले तिमीहरूलाई पूर्व-पश्चिमबाट, उत्तर-दक्षिण र विदेशी मुलुकहरूबाट,
फर्काई ल्याउनुभएको छ।
4बाटो पहिल्याउन नसकिने मरुभूमिमा कति जना डुलिहिँडे
र कुनै सहरमा गई बास गर्न बाटो पाएनन्।
5तिनीहरू भोका र तिर्खाएका थिए,
तिनीहरूले सबै आशा मारेका थिए।
6तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे
र उहाँले तिनीहरूलाई सबै दु:ख-पीडादेखि बचाउनुभयो।
7उहाँले तिनीहरूलाई एउटा सोझो बाटोमा डोर्याएर
सहरमा बास गर्न पुर्याउनुभयो।
8तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति
र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ।
9उहाँले तिर्खाएकाहरूको तृष्णा मेट्नुहुन्छ
र भोकाएकाहरूलाई असल कुराले तृप्त गराउनुहुन्छ।
10कति निराशा र अन्धकारमा जिइरहेका थिए,
साङ्लाले बाँधिएर कैदीसरि तिनीहरूले कष्ट भोगिरहेका थिए
11किनभने तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आज्ञाहरूको विरोध गरेका थिए
र उहाँका अर्ती अस्वीकार गरेका थिए।
12कठोर परिश्रमले तिनीहरू थाकिसकेका थिए,
तिनीहरू भूइँमा लोट्दथे,
तिनीहरूलाई मद्दत गर्ने कोही थिएन।
13तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे
र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो।
14उहाँले तिनीहरूलाई निराशा र अन्धकारबाट निकाली ल्याउनुभयो,
र तिनीहरूका साङ्ला टुक्रा-टुक्रा पारिदिनुभयो।
15तिनीहरूले परमप्रभुलाई उहाँको अटुट प्रेमको निम्ति
र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ।
16उहाँले काँसाका ढोकाहरू तोड्नुहुन्छ
र फलामका छेक-बारहरू टुक्रा-टुक्रा पार्नुहुन्छ।
17कति जना आफ्नो पाप र दुष्टताको कारणले
कष्टमा परेका मूर्खहरू थिए।
18तिनीहरू खाना हेर्न पनि नसक्ने भएका थिए
र मर्न आँटेका थिए।
19तब तिनीहरूले परमप्रभुलाई आफ्नो कष्टमा पुकारे
र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो,
20आफ्नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो
र मृत्युदेखि बचाउनुभयो।
21तिनीहरूले परमप्रभुलाई उहाँको अनन्त प्रेमको निम्ति
र उहाँले तिनीहरूका लागि गर्नुभएका उदेकका कामहरूका निम्ति धन्यवाद दिनैपर्छ।
22बलि चढाएर तिनीहरूले उहाँलाई धन्यवाद चढाउनुपर्छ
र आनन्दका भजन गाएर उहाँले गर्नुभएका सारा कामको बारेमा भन्नुपर्छ।
23कति जना महासागरमा जहाजहरू चलाएर गए
र समुद्रमा आफ्नो जीविका चलाउने कमाइ गरे।
24परमप्रभुले के कसो गर्न सक्नुहुन्छ, तिनीहरूले देखे,
समुद्रमा उहाँका उदेकका कामहरू तिनीहरूले देखे।
25उहाँको आज्ञाले एउटा तेज बतास बग्न सुरु भयो
र पानीका लहरहरू उठ्न थाले।
26जहाजहरू हावामा माथि उचालिन्थे
र समुद्रमा गहिरोसम्म डुबिजाँदथे।
यस्तो विपत्तिको समयमा मानिसहरूले साहस हराए।
27मातेका मानिसहरूझैँ तिनीहरू लरबरिन्थे र लड्थे,
तिनीहरूको केही सीप चलेन।
28तब तिनीहरूले परमप्रभुलाई आफ्ना कष्टमा पुकारे
र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्टबाट बचाउनुभयो।
29उर्लंदो आँधीलाई उहाँले थाम्नुभयो
र पानीका लहरहरू शान्त भए।
30सबै शान्त भएको हुनाले तिनीहरू खुसी भए
र उहाँले तिनीहरूलाई कुशलसित तिनीहरूले चाहेका बन्दरगाहमा ल्याइपुर्याउनुभयो।
31तिनीहरूले परमप्रभुलाई उहाँको अनन्त प्रेमको निम्ति
र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्ति धन्यवाद दिनैपर्छ।
32मानिसहरूका सभामा तिमीहरूले उहाँको महान्ताबारे भन्ने गर्नुपर्छ
र अगुवाहरूका सभाघरमा उहाँको प्रशंसा गर्नुपर्छ।
33परमप्रभुले नदीहरू पूरै सुकाउनुभयो
र खोलाहरू बग्न बन्द गर्नुभयो।
34त्यहाँका बासिन्दाहरूको दुष्टताको कारण
उहाँले मलिलो जमिनलाई नुनिलो र रूखो बनाउनुभयो।
35उहाँले मरुभूमिलाई पानीको पोखरी बनाइदिनुभयो
र सुखा भूमिलाई बग्ने खोलाहरूमा।
36उहाँले भोका मानिसहरूलाई त्यहाँ बस्न दिनुभयो
र तिनीहरूले आफू बस्नलाई एउटा सहर बसाले।
37तिनीहरूले खेत-बारीमा बिउ छरे, अङ्गुरको बोट रोपे
र प्रशस्त अन्न कटनी गरे।
38उहाँले आफ्ना प्रजालाई आशीर्वाद दिनुभयो
र तिनीहरूका सन्तान धेरै भए,
उहाँले तिनीहरूलाई गाई-वस्तुका बथानलाई घट्न दिनुभएन।
39जब निष्ठुर सतावट र दु:ख-कष्टले गर्दा परमेश्वरका प्रजाको हार र अपमान भयो,
40तब तिनीहरूका खेदो गर्नेहरूलाई
उहाँले अपमानित तुल्याएर
बोट नभएको मरुभूमिमा बरालिन लाउनुभो।
41तर अभावमा परेकाहरूलाई तिनीहरूका कष्टदेखि बचाउनुभयो,
उहाँले तिनीहरूका परिवारलाई भेडाका बथानझैँ बढाउनुभयो।
42धर्मीहरूले यो देखेर रमाउँछन्,
तर सबै दुष्टहरूका मुख चुप पारिन्छ।
43बुद्धिमान्हरूले यी कुराहरूबारे विचार गरून्,
तिनीहरूले परमप्रभुको अनन्त प्रेमलाई मानिलिऊन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 107: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.