हितोपदेश 7
7
1ए मेरो छोरो, मेरो वचन याद राख् र मैले गर्न भनेका कुरा कहिल्यै नबिर्सी, 2मैले भनेअनुसार गर् र तँ जिउनेछस्। तेरा आँखाका नानी जोगाएझैँ मेरा अर्ती मान्न होश गर्। 3सधैँ मेरो शिक्षा पालन गर्, त्यो तेरो हृदयको पाटीमा लेखिराख्। 4बुद्धिलाई बहिनीजस्तो र अन्तर्दृष्टिलाई परममित्रजस्तो व्यवहार गर्। 5ती कुराले तँलाई अर्काका स्वास्नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्नेछन्।
व्यभिचारिणी स्त्रीसँग सावधानी
6एकपल्ट मैले मेरो घरको झ्यालबाट बाहिर हेर्दै थिएँ। 7मैले धेरै अन्जान ठिटाहरूलाई देखें र विशेषगरी एक जना मूर्ख ठिटोलाई देखें। 8एक कुनामा एउटी स्त्रीको घर थियो, त्यस घरछेउको बाटोमा त्यो ठिटो जाँदै थियो र त्यस घरको छेउ पुग्यो। 9त्यस बेला साँझ परेर अँध्यारो भएको थियो 10र त्यस स्त्रीले त्यस ठिटोलाई भेटी, त्यो वेश्याको वस्त्रमा थिई र फसाउने दाउमा थिई। 11त्यो निडर र निर्लज्ज स्त्री थिई र सधैँ बाटो चहारी हिँड्थी 12अथवा कुना-काप्चाहुँदो, कहिले सडकहरूमा र कहिले चोकहरूमा ढुकेर बस्थी। 13त्यस स्त्रीले त्यस ठिटोलाई अँगालो हाली र म्वाइँ खाई र त्यसका आँखामा सोझै हेरेर भनी, 14“आज मैले बलिदान चढाएँ र बलिको मासु मसित छ। 15यसकारण म तिमीलाई खोज्दै आएँ। म तिमीलाई भेट्न चाहन्थें र यहाँ भेटें! 16मिश्रदेशका रङ्गी-बिरङ्गी मलमलका तन्नाहरू मैले मेरो ओछ्यानमा बिछ्याएकी छु। 17ओछ्यानमा मूर्र, घिउ-कुमारी र दालचीनीको अत्तर छर्केकी छु। 18आऊ! हामी प्रेमविलासमा रात कटाऔं। एक-अर्काको अँगालोमा हामी आनन्द मनाउँनेछौं। 19मेरो लोग्ने घरमा छैनन्। उनी टाढाको यात्रामा गएका छन्। 20तिनले साथमा धेरै रकम-पैसा लगेका छन् र दुई सातासम्म घर फर्कनेछैनन्।”
21त्यसरी मोहनी लाएर त्यस ठिटोलाई त्यसले फसाई र त्यसका चाप्लुसी कुरामा त्यो फस्यो। 22-23कसाईकहाँ काटिन लगिएको साँढेझैँ अथवा मृग उफ्रेर पासोमा परेझैँ, जहाँ काँडले त्यसको मुटु छेड्नेछ, त्यो एका-एक त्यस स्त्रीको पछि लाग्यो। जालमा फस्न लागेको चराझैँ त्यो हिँड्यो, आफ्नो ज्यानलाई खतरा भएको त्यसले चालै पाएन।
24ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्यान देओ। 25त्यस्ती स्त्रीले तिम्रो मन बराल्न नपाओस्, त्यसको पछि नबरालिऔ। 26त्यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्यसले नाश गरेका मानिसको गन्ती नै छैन। 27तँ त्यसको घरमा गइस् भने मृत्यु-लोकको बाटो लागिस्। त्यो मृत्युमा पुर्याउने छोटो बाटो हो।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.