हितोपदेश 6
6
अरू चेतावनीहरू
1ए मेरो छोरो, के तँ कसैको ऋणको जमानी बसेको छस्? 2के तँ आफ्नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्? 3त्यसो भए, ए मेरो छोरो, तँ त्यस मानिसको हातमा परेको छस्? अब उम्कने यही उपाय छ– झट्टै त्यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्यसलाई बिन्ती गर्। 4आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्, 5चरा पासोबाट फुत्केझैँ वा शिकारीका हातबाट हरिण उम्केझैँ तँ त्यसबाट निस्किहाल्।
6हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। 7तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन, 8तर ग्रीष्म ऋतुमा तिनीहरूले आफ्ना खाना बटुल्दछन् र जाडोको समयको लागि भण्डार तयारी गर्छन्। 9अल्छी मानिस कहिलेसम्म ओछ्यानमा लडिरहने हो? त्यो कहिले उठ्ने हो? 10#हितोपदेश 24:33,34त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” 11तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ।
12बेकामका र दुष्ट मानिसहरू झूटो कुरा गर्दै घुमिहिँड्छन्। 13तिनीहरूले आँखा झिम्क्याउँछन् र छल्ने इशारा गर्छन् 14र सबै समय आफ्ना दुष्ट मनमा जालका कुरा रचिरहेका हुन्छन् र झगडा निकाल्छन्। 15त्यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्नेछ र तिनीहरू घाइते भई मर्नेछन्।
16-19सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ र सहन सक्नुहुन्न:
अहङ्कारी आँखा,
झूटो बोल्ने जिब्रो,
निर्दोषको हत्या गर्ने हात,
दुष्ट जाल रच्ने मन,
दुष्ट काम गर्न हतार गर्ने खुट्टा,
झूटै-झूट बोल्ने गवाह
र मित्रहरूका बीचमा झगडा लाउने मानिस।
व्यभिचार विरुद्ध चेतावनी
20ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। 21तिनीहरूका वचनहरू आफ्नो हृदयमा सधैँ साँचिराख्, 22तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्लाहको कुरा तँलाई बताउनेछ। 23तिनीहरूको अर्तीचाहिँ उज्यालो ज्योति हो, तिनीहरूको सुधारले तँलाई आफ्नो जीवन बिताउन सिकाउँछ। 24त्यसले तँलाई भ्रष्ट आइमाईहरू र अर्काका स्वास्नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्नेछ। 25तिनीहरूका सुन्दरताको लालसा नगर्, तिनीहरूका चञ्चल आँखाका हेराइले तँलाई नफसाओस्। 26मानिसले एउटा रोटीको मोल तिरेर वेश्याकहाँ जान्छ तर व्यभिचारीले त्यस मानिसको सम्पूर्ण जीवनलाई बरबाद पार्दछ।
27के तैँले लुगा नडढाईकन आफ्नो छातीमा आगो बोक्न सक्छस्? 28आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्न सक्छस्? 29अर्काकी स्वास्नीसित सुत्नु त्यस्तै खतराको कुरा हो। जसले त्यसो गर्छ, त्यसले दु:ख भोग्नेछ। 30भोकाएर चोरले खानेकुरा चोरे, त्यसलाई कसैले तुच्छ ठान्दैनन्, 31तर त्यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्यसले सात गुणा फर्काउनुपर्छ। 32तर व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्यसले आफ्नै नाश गर्छ। 33त्यसको बेइज्जत हुन्छ, त्यसले कुटाइ खान्छ, सधैँभरिको लागि त्यसको अपमान हुन्छ। 34लोग्नेलाई ईखले भरिएको बेलामा झैँ ज्यादा रिस अरू बेलामा उठ्दैन? त्यसलाई बदला लिन कुनै कुराले रोक्दैन। 35त्यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्यसको रिस थामिंदैन।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.