YouVersion लोगो
खोज आइकन

हितोपदेश 31:1-31

हितोपदेश 31:1-31 सरल नेपाली

लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्: “तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ? तेरा सारा बल स्‍त्रीहरूमाथि खर्च नगर्‌, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्। हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्‍न, त्‍यसको तल-तल राख्‍नुहुन्‍न। तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्‍छन् र दु:खीहरूको हकको वास्‍ता गर्दैनन्। मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। तिनीहरूले पिएर आफ्‍ना गरीबी र दु:ख भुल्‍छन्। “बोल्‍न नसक्‍नेहरूका निम्‍ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्‌। तिनीहरूको पक्षमा बोलिदे र ठीक न्‍याय गर्‌। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्‌।” योग्‍य स्‍वास्‍नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्‍छ! लोग्‍नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्‍ने कहिले गरीब हुँदैन। जीवनभरि उसले लोग्‍नेको भलाइ गर्छे र कहिल्‍यै केही खति गर्दिन। ऊनी र सुती कपडा बनाउन ऊ व्‍यस्‍त रहन्‍छे। व्‍यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्‍याउँछे। आफ्‍नो परिवारको निम्‍ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्‍कनुभन्दा अघि ओछ्यानबाट उठ्छे। उसले जमिन हेरेर किन्‍छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे। ऊ परिश्रमी, बलियो र उद्योगी हुन्‍छे। आफूले बनाएको हरेक चीजको मूल्‍य उसले बुझ्‍छे, राती धेरै बेरसम्‍म उसले काम गर्छे। ऊ आफैंले धागो कात्‍छे र आफ्‍नो कपडा बुन्‍छे। गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्‍छे। हिउँ पर्दा उसले चिन्‍ता गर्दिन किनभने उसका परिवारका सबैको निम्‍ति गरम कपडा हुन्‍छ। उसले पलङ्गको तन्‍ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्‍त्र लाउँछे। उसका लोग्‍नेलाई सहरको एउटा मुख्‍य व्‍यक्ति हुन् भनी सबैले चिन्‍छन्। उसले सुती लुगा र पटुका बनाएर व्‍यापारीहरूलाई बेच्‍छे। ऊसित बल र इज्‍जत छ, भोलिको निम्‍ति उसले चिन्‍ता गर्दिन। उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ। ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे। उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌। लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।” सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे। तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

हितोपदेश 31 पढ्नुहोस्