YouVersion लोगो
खोज आइकन

हितोपदेश 31

31
राजालाई सल्‍लाह
1लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्:
2“तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ? 3तेरा सारा बल स्‍त्रीहरूमाथि खर्च नगर्‌, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्। 4हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्‍न, त्‍यसको तल-तल राख्‍नुहुन्‍न। 5तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्‍छन् र दु:खीहरूको हकको वास्‍ता गर्दैनन्। 6मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। 7तिनीहरूले पिएर आफ्‍ना गरीबी र दु:ख भुल्‍छन्।
8“बोल्‍न नसक्‍नेहरूका निम्‍ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्‌। 9तिनीहरूको पक्षमा बोलिदे र ठीक न्‍याय गर्‌। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्‌।”
योग्‍य स्‍वास्‍नी
10योग्‍य स्‍वास्‍नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्‍छ!
11लोग्‍नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्‍ने कहिले गरीब हुँदैन।
12जीवनभरि उसले लोग्‍नेको भलाइ गर्छे र कहिल्‍यै केही खति गर्दिन।
13ऊनी र सुती कपडा बनाउन ऊ व्‍यस्‍त रहन्‍छे।
14व्‍यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्‍याउँछे।
15आफ्‍नो परिवारको निम्‍ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्‍कनुभन्दा अघि ओछ्यानबाट उठ्छे।
16उसले जमिन हेरेर किन्‍छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे।
17ऊ परिश्रमी, बलियो र उद्योगी हुन्‍छे।
18आफूले बनाएको हरेक चीजको मूल्‍य उसले बुझ्‍छे, राती धेरै बेरसम्‍म उसले काम गर्छे।
19ऊ आफैंले धागो कात्‍छे र आफ्‍नो कपडा बुन्‍छे।
20गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्‍छे।
21हिउँ पर्दा उसले चिन्‍ता गर्दिन किनभने उसका परिवारका सबैको निम्‍ति गरम कपडा हुन्‍छ।
22उसले पलङ्गको तन्‍ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्‍त्र लाउँछे।
23उसका लोग्‍नेलाई सहरको एउटा मुख्‍य व्‍यक्ति हुन् भनी सबैले चिन्‍छन्।
24उसले सुती लुगा र पटुका बनाएर व्‍यापारीहरूलाई बेच्‍छे।
25ऊसित बल र इज्‍जत छ, भोलिको निम्‍ति उसले चिन्‍ता गर्दिन। 26उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ।
27ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे।
28उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌।
29लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।”
30सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे।
31तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 31: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्