ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। भक्ति र विश्वासलाई कहिल्यै नत्याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्। त्यसो गरिस् भने परमेश्वर र मानिस दुवै तँसित प्रसन्न रहनेछन् र तैँले निगाह पाउनेछस्। तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। आफूलाई ज्यादै बुद्धिमान् नठान्, खालि परमप्रभुको आज्ञा मान् र दुष्ट्याइँबाट जोगिने गर्। त्यसो गरिस् भने त्यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ। आफ्नो धन-सम्पत्ति र आफ्ना उब्जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्। त्यसो गरिस् भने तेरा ढुकुटीहरू अन्नले भरिनेछन् र तेरो दाख-कुण्ड दाखमद्यले भरिएर पोखिनेछ। ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् किनभने जसरी बुबाले जुन छोरोमा गर्व गर्छ, उसैलाई दण्ड दिन्छ, त्यसरी नै परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ। बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्पत्ति र इज्जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्दमय बनाउन सक्छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्के र बादलबाट पृथ्वीमा वर्षा भयो। ए मेरो छोरो, तैँले बुद्धि र अन्तर्दृष्टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्यै फुत्केर जान नदे। यी कुराले तँलाई जीवन दिनेछन्– एउटा सुखी र आनन्दमय जीवन। तँ तेरो बाटोमा कुशलसाथ जान सक्नेछस् र कहिल्यै ठेस खानेछैनस्। सुत्न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्त निद्रा लाग्नेछ। दुष्टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्ने विपत्तिहरूको डर तँलाई हुनेछैन। परमप्रभुले तँलाई कुशल राख्नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्न। तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्छस् भने भोलिसम्म पर्खन नलगा। आफ्नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्यो तेरो छेउमा तँमाथि विश्वास गरी बास गर्दछ। जसले तेरो कहिल्यै हानि गरेको छैन, त्योसित बिनाकारण तर्कवितर्क नगर्। हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले किनभने दुष्कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर धर्मीहरूचाहिँ उहाँका विश्वास-पात्र हुन्छन्। दुष्कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्छ। उहाँले अहङ्कारी मानिसहरूको वास्ता गर्नुहुन्न तर नम्रहरूमाथि आफ्नो निगाह राख्नुहुन्छ। बुद्धिमान् मानिसहरूले इज्जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्नो अपमानमाथि अपमान थप्छन्।
हितोपदेश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:1-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू