YouVersion लोगो
खोज आइकन

हितोपदेश 2:1-22

हितोपदेश 2:1-22 सरल नेपाली

ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्‍यै नबिर्सी। बुद्धिको कुरा सुन् र त्‍यसलाई बुझ्‍ने कोसिस गर्‌। हो, बुद्धि माग् र अन्‍तर्दृष्‍टिको निम्‍ति बिन्‍ती गर्‌। चाँदी वा कुनै गाडधन खोजेझैँ त्‍यसको खोजी गर्‌। त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्। बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ। उहाँले अरूसित न्‍यायको व्‍यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्‍ना भक्तजनहरूको रेखदेख गर्नुहुन्‍छ। तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्‍यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्‍नेछस् र आफ्‍नो कर्तव्‍य जान्‍नेछस्। तँ बुद्धिमान् बन्‍नेछस् र आफ्‍नो ज्ञानमा आनन्‍द पाउनेछस्। तेरा अन्‍तर्दृष्‍टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्। अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। त्‍यस्‍ता मानिसहरू धर्मी जीवन त्‍यागी पापको अन्‍धकारमा बास गर्छन् र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्, र भर पर्न नसकिने अविश्‍वासीहरू हुन्‍छन्। चाप्‍लुसी कुराले लोभ्‍याएर तेरो चरित्र नष्‍ट गर्न खोज्‍ने व्‍यभिचारिणी स्‍त्रीको तैंले सामना गर्न सक्‍नेछस्– जुन स्‍त्रीले आफ्‍ना लोग्‍नेसित विश्‍वासघात गर्दछे र आफ्‍नो पवित्र शपथ भुल्‍दछे। तँ त्‍यस स्‍त्रीको घर गइस् भने मृत्‍युमा पुग्‍नेछस्, त्‍यहाँ जानु नै मृत्‍यु-लोकमा जानु हो। त्‍यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्‍यसले जीवनको मार्ग फेरि पहिल्‍याउन सक्‍दैन। यसैकारण तैँले असल मानिसहरूको चालमा चल्‍नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। परमेश्‍वरले दुष्‍टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्‍नुहुनेछ।

हितोपदेश 2 पढ्नुहोस्