YouVersion लोगो
खोज आइकन

हितोपदेश 12

12
1जसले ज्ञानलाई प्रेम गर्दछ, त्‍यसले आफ्‍ना दोष देखाइदिएको स्‍वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो।
2असल मानिसहरूसित परमप्रभु प्रसन्‍न हुनुहुन्‍छ तर दुष्‍ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्‍छ।
3दुष्‍ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्‍छन्।
4असल स्‍वास्‍नी उसको लोग्‍नेको गर्व र आनन्‍द हो तर लोग्‍नेलाई लाज पार्ने स्‍वास्‍नी उसको कुहेको हाडजस्‍तो हो।
5इमानदार मानिसहरूले न्‍यायपूर्ण व्‍यवहार गर्छन् तर दुष्‍टहरूले छल्‍न चाहन्‍छन्।
6दुष्‍टहरूको बोली प्राणघातक हुन्‍छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ।
7दुष्‍टहरू नाश भएर जान्‍छन्, तिनीहरूको सन्‍तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्‍छ।
8तिमी समझदार छौ भने प्रशंसा पाउनेछौ तर मूर्ख छौ भने मानिसहरूले तुच्‍छ ठान्‍नेछन्।
9आफूलाई उच्‍च देखाएर भोकभोकै बस्‍नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो।
10धर्मी मानिसले आफ्‍ना पशुहरूको हिफाजत गर्छ तर दुष्‍टहरू आफ्‍ना पशुहरूप्रति निष्‍ठुर हुन्‍छन्।
11मेहनत गर्ने किसानसित प्रशस्‍त खानेकुरा हुन्‍छ तर व्‍यर्थका काममा समय फाल्‍नु मूर्खता हो।
12दुष्‍टहरू दुष्‍ट्याइँ गर्न खोजिहिँड्छन् तर धर्मीहरू दरिला भई खडा रहन्‍छन्।
13दुष्‍ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्‍टबाट बाँच्‍दछ।
14तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्‍य छौ, त्‍यही पाउनेछौ।
15मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्‍झन्‍छन्। बुद्धिमान्‌हरूले सल्‍लाहका कुरा सुन्‍छन्।
16मूर्ख रिसाउँदा त्‍यसले झट्टै आफ्‍नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्‍यान दिँदैनन्।
17सत्‍य वचन बोल्‍दा न्‍यायको जगेरा हुन्‍छ, झूटो वचनले अन्‍याय ल्‍याउँदछ।
18नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ।
19झूटो थोरै समयको निम्‍ति मात्र हो तर सत्‍य सदा रहिरहन्‍छ,
20दुष्‍ट उपाय निकाल्‍नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्।
21धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्‍टमाथि दु:खै-दु:ख मात्र हुन्‍छ।
22झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ।
23समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्‍नो मूर्खता प्रचार गर्छन्।
24कठोर परिश्रमले शक्ति दिँदछ तर अल्‍छी बन्‍नाले कमारो होइन्‍छ।
25चिन्‍ताले तिम्रो आनन्‍द लुट्छ तर दयालु वचनले हर्षित तुल्‍याउँदछ।
26धर्मी मानिस आफ्‍ना साथीको असल अगुवा हुँन्‍छ तर दुष्‍टको बाटोले नजानुपर्ने दिशातिर लैजान्‍छ।
27अल्‍छीले चिताएको पुग्‍दैन तर मेहनतीले धेरै धन कमाउँछ।
28धार्मिकता नै जीवनको बाटो हो, दुष्‍ट्याइँचाहिँ मृत्‍युको बाटो हो।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 12: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्