YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:20-33

हितोपदेश 1:20-33 सरल नेपाली

सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ, सहरका ढोकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा त्यसले सोर उचालेर यसो भन्‍दछ– “हे मूर्खहरू हो! कहिलेसम्‍म तिमीहरू मूर्ख भइरहन चाहन्‍छौ? कहिलेसम्‍म बुद्धिलाई तुच्‍छ ठानी सन्‍तोष मान्‍ने? के ज्ञानका कुरा कहिल्‍यै नसिक्‍ने? तिमीहरूले मेरो हप्‍कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्‍नेछु। मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्‍तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्‍दैनौ। तिमीहरूले मतिर ध्‍यानै दिएनौ। तिमीहरूले मेरो सल्‍लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ। जब तिमीहरू कष्‍टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्‍नेछु, डरलाग्‍दा विपत्तिहरू आइलाग्‍दा म तिमीहरूलाई खिसी गर्नेछु– विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्‍दो हुरी चल्‍नेछ र तिमीहरू कष्‍ट र पीडामापर्नेछौ। त्‍यस बेला म तिमीहरूलाई खिसी गर्नेछु। त्‍यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्‍नेछौ तर मलाई भेट्टाउनेछैनौ। तिमीहरूले सधैँ बुद्धिको तिरस्‍कार गरेका छौ र परमप्रभुको आज्ञा मान्‍न इन्‍कार गरेका छौ। तिमीहरूले कहिल्‍यै मेरो सल्‍लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्‍यान दिएनौ। यसकारण तिमीहरूले खोजेका भेट्टाउनेछौ र आफ्‍नै कर्मले दु:खी हुनेछौ। तर अन्‍जान व्‍यक्तिहरू बुद्धिको तिरस्‍कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्‍यक्तिहरू आफ्‍नै बेवास्‍ताले गर्दा नाश हुनेछन्। तर जसले मेरो कुरा सुन्‍छ, त्‍यसले सुरक्षा पाउनेछ। त्‍यो कुशलसाथ रहनेछ र त्‍यसलाई डरको कुनै कारण हुनेछैन।”

हितोपदेश 1 पढ्नुहोस्