YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:20-33

हितोपदेश 1:20-33 NNRV

बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ, होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ: “हे निर्बुद्धि हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने? यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ। तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले, मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले, तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु— जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌। “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले, तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले, तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌। आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ। तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”