गन्ती 36
36
विवाहिता स्त्रीहरूको पैतृक सम्पत्ति
1गिलाद कुलका परिवारहरूका मुखियाहरू मोशा र अरू अगुवाहरूकहाँ गए। गिलाद, माकीरका छोरा अनि योसेफका छोरा मनश्शेका नाति थिए। 2#गन्ती 27:7ती मुखियाहरूले भने, “परमप्रभुले तपाईंहरूलाई चिट्ठा हालेर इस्राएलीहरूका बीचमा जमिन बन्डा गर्ने आज्ञा गर्नुभएको हो। उहाँले तपाईंहरूलाई हाम्रा नातेदार सलोफादको सम्पत्ति तिनका छोरीहरूलाई दिनू भनी आज्ञा गर्नुभएको हो। 3तर ती केटीहरूले अरू कुलका पुरुषहरूसित विवाह गरे भने तिनीहरूका सम्पत्ति त्यही कुलको हुनेछ र हाम्रा हिस्सामा परेको जम्मा सम्पत्तिचाहिँ घट्नेछ। 4पुनर्स्थापनको वर्षमा जब सबै बिक्री भएका सम्पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फिर्ता दिइन्छन्, सलोफादका छोरीहरूका सम्पत्ति तिनीहरूले विवाह गरेका कुलका सम्पत्तिसित सधैँको निम्ति गाभिनेछ। र हाम्रा कुलको सम्पत्ति घटेर जानेछ।” 5यसकारण मोशाले इस्राएलीहरूलाई परमप्रभुबाट यस्तो आज्ञा दिएर भने, “मनश्शे कुलले भनेको कुरा ठीक हो। 6यसकारण परमप्रभु भन्नुहुन्छ कि सलोफादका छोरीहरूले जसलाई चाहन्छन्, तिनीहरूसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै कुलभित्र नै विवाह गर्नुपर्नेछ। 7प्रत्येक इस्राएलीको सम्पत्ति त्यसको कुलसितै रहनेछ।
8कुनै इस्राएली कुलमा सम्पत्तिको हकदार हुने स्त्रीले त्यही कुलको पुरुषसित विवाह गर्नुपर्छ। यसरी आफ्ना पुर्ख्यौली सम्पत्तिमा हरेक इस्राएलीको हक रहनेछ। 9सम्पत्ति एउटा कुलदेखि अर्को कुलमा जानेछैन। हरेक कुलको आफ्नो सम्पत्तिमाथि अधिकार रहिरहनेछ।”
10-11यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्ना बुबापट्टिका आफन्तहरूसित विवाह गरे। 12तिनीहरूले योसेफको छोरो मनश्शेका कुलभित्र नै विवाह गरे। तिनीहरूका सम्पत्ति आफ्नै बुबाको कुलमा रह्यो। 13यर्दनपारि यरीहोको सामुन्नेपट्टि मोआबको मैदानमा परमप्रभुले आगोद्वारा इस्राएलीहरूलाई दिनुभएका नियम कानुनहरू यी नै हुन्।
अहिले सेलेक्ट गरिएको:
गन्ती 36: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.