YouVersion लोगो
खोज आइकन

गन्‍ती 33

33
मिश्रदेखि मोआबसम्मको यात्रा
1मोशा र हारूनका अगुवाइमा इस्राएली कुलहरूले मिश्र छोडेपछि तिनीहरूले कुन-कुन ठाउँमा छाउनी हाले ती ठाउँका नाम तलको बयानबाट पाइन्‍छ। 2परमप्रभुको आज्ञाले जतिपल्‍ट तिनीहरूले छाउनी हाले त्‍यतिपल्‍ट मोशाले ती ठाउँको नाम लेखे।
3निस्‍तार-चाडको भोलिपल्‍ट पहिलो महिनाको पन्‍ध्रौँ दिनमा इस्राएलीहरूले मिश्र छोडे। परमप्रभुको सुरक्षामा मिश्रीहरूले हेर्दाहेर्दै तिनीहरू रामसेस सहरबाट हिँडे। 4त्‍यस बेला परमप्रभुले मार्नुभएका आफ्‍ना जेठा छोराहरूका लाश तिनीहरूले गाड्दै थिए। त्‍यसरी आफूलाई मिश्रका देवताहरूभन्दा शक्तिशाली छु भनी परमप्रभुले देखाउनुभयो।
5रामसेस छोडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले। 6तिनीहरूको दोस्रो छाउनी एताममा, उजाड-स्‍थानको सीमानातिर पर्‍यो। 7त्‍यहाँबाट तिनीहरू बाल-सेफोनको पूर्वपट्टि पी-हहीरोतमा फर्के र मिग्‍दोलको छेउमा छाउनी हाले। 8पी-हहीरोत छोडेर तिनीहरूले लाल समुद्र पार गरे र शूरको उजाड-स्‍थानमा पसे। तीन दिन हिँडेपछि तिनीहरूले मारामा छाउनी हाले। 9त्‍यहाँबाट तिनीहरू एलीम गए र त्‍यहाँ छाउनी हाले किनभने त्‍यहाँ बाह्रवटा पानीका मूल र सत्तरीवटा खजुरका रूखहरू थिए।
10तिनीहरू एलीमबाट बिदा भए र लालसमुद्रनिर छाउनी हाले। 11त्‍यसपछि तिनीहरूले सीनको मरुस्‍थलमा छाउनी हाले। 12-13त्‍यसपछि दोफकामा अनि पछि आलूशमा छाउनी हाले। 14त्‍यसपछि रपीदीममा, जहाँ तिनीहरूले पिउने पानी पाएनन्।
15-37रपीदीमदेखि होर पर्वतसम्‍म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए– सीनैको मरुस्‍थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्‍मा, रिम्‍मोन-फारेस, लिब्‍ना, रिस्‍सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्‍का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्‍बाता, अब्रोना, एस्‍योन-गेबेर, सीनको उजाड-स्‍थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ।
38-39 # गन्ती 20:22-28; व्यवस्था 10:6; 32:50 परमप्रभुको आज्ञाअनुसार पूजाहारी हारून होर पर्वतमा चढे। इस्राएलीहरूले मिश्र छोडेपछि चालीस वर्ष बित्‍दैगर्दा पाँचौँ महिनाको पहिलो दिन एक सय तेईस वर्ष उमेरमा हारून त्‍यहाँ मरे।
40 # गन्ती 21:1 दक्षिण कनानमा आरादको राजाले इस्राएलीहरू आउँछन् भनी सुने।
41-49होर पर्वतदेखि मोआबका मैदानमा पुग्‍दा इस्राएलीहरूले यी ठाउँहरूमा छाउनी हालेका थिए– सलमोना, पूनोन, ओबोत, मोआबको सीमानाभित्र इये-अबारीमको भग्‍नावषेश, इयीम, दीबोन-गाद, अल्‍मोन-दिब्‍लातैम, नेबो डाँडाका छेउको अबारीम डाँडा र मोआबका मैदान, जो यर्दन नदीको पारिपट्टि, यरीहोको अघिल्‍तिर पर्छ अनि जुनचाहिँ बेथ-यशीमोत र हाबिल-शित्तीमका बीचमा पर्दछ।
यर्दन पार गर्नुअघि परमप्रभुको निर्देशन
50त्‍यहाँ यर्दनको पारिपट्टि यरीहो अघिल्‍तिर मोआबका मैदानमा परमप्रभुले मोशालाई 51इस्राएलीहरूको लागि आदेशहरू दिनुभयो– “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्‍नेछौ, 52त्‍यस देशका सबै बासिन्‍दाहरूलाई तिमीहरूले धपाउनुपर्नेछ। तिनीहरूका पत्‍थर र धातुका सबै मूर्तिहरू र पूजा-स्‍थलहरू ध्‍वस्‍त पारिदिनू। 53त्‍यो देश जितेर त्‍यहाँ बास गर्नू किनभने त्‍यो म तिमीहरूलाई दिँदछु। 54#गन्ती 26:54-56विभिन्‍न कुलहरूका बीचमा चिट्ठा हालेर जमिनको बन्डा गर्नू। ठूला कुललाई ठूलै हिस्‍सा र सानो कुललाई सानै हिस्‍सा दिनू। 55तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने त्‍यहाँ रहेकाहरूले तिम्रा आँखाभित्र परेका छेस्‍का वा शरीरमा बिजेका काँडाले झैँ तिमीहरूलाई कष्‍ट दिनेछन्। तिनीहरूले तिम्रा विरुद्धमा लडाइँ गर्नेछन्। 56तिमीहरूले कनानीहरूलाई देशबाट बाहिर लखेटेनौ भने म तिमीहरूलाई त्‍यसरी नै नाश गर्नेछु, जसरी तिनीहरूलाई नाश गरूँला भन्‍ने मेरो उद्देश्‍य थियो।”

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 33: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्