गन्ती 34
34
देशका सिमानाहरू
1-2इस्राएलीहरूको लागि परमप्रभुले मोशालाई यी आदेश दिनुभयो, “जब तिमीहरू मैले दिएको देश कनानभित्र पस्नेछौ, तब तिमीहरूका इलाकाका सीमानाहरू यस प्रकार हुनेछन्: 3दक्षिणको सीमाना सीनको उजाड-स्थानदेखि एदोमको सीमाना साथसाथै जानेछ। पूर्वपट्टि त्यो मृत-सागरको दक्षिण सीमानाबाट सुरु हुनेछ। 4तब त्यो दक्षिणपट्टि अक्रब्बीम घाटीतिर घुम्नेछ र सीनको बीच भएर दक्षिणको कादेश-बर्नेसम्म जानेछ। तब त्यो उत्तर-पश्चिमपट्टि हसर-अद्दरतिर घुम्नेछ र अज्मोनसम्म पुग्नेछ, 5जहाँ त्यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्यसागरमा टुङ्गिनेछ।
6“पश्चिमपट्टिको सीमाना भूमध्य सागर हुनेछ।
7“उत्तरपट्टिको सीमाना भूमध्यसागरदेखि होर पर्वत भएर 8हमातको घाटीसम्म पुग्नेछ। त्यहाँबाट त्यो सदाद 9र सिप्रोनसम्म जानेछ र हसर-एनानमा टुङ्गिनेछ।
10“पूर्वपट्टिको सीमाना हसर-एनानदेखि सपामतर्फ जानेछ। 11त्यहाँदेखि ऐनको पूर्वपट्टि दक्षिणतिर रिब्लासम्म र त्यहाँबाट गालील तालको पूर्व किनारका डाँडाहरूमा जानेछ 12र त्यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्यो मृत-सागरमा टुङ्गिनेछ।
“तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।”
13 #
गन्ती 26:52-56
#
यहोशू 14:1-5
यसकारण मोशाले इस्राएलीहरूलाई भने, “यही देश तिमीहरूले चिट्ठा हालेर लिनेछौ, जुन देश तिमीहरू नौ र आधा कुलहरूलाई परमप्रभुले दिनुभएको छ। 14-15रूबेन र गादका कुलहरू र मनश्शेका पूर्वपट्टिका आधा कुलले यर्दन नदीका पूर्वमा यरीहोको सामुन्नेपट्टि आफ्ना जमिन पाइसकेका छन् र ती तिनीहरूले आफ्ना परिवारअनुसार बन्डा पनि गरिसकेका छन्।”
16परमप्रभुले मोशालाई भन्नुभयो, 17“पूजाहारी एलाजार र नूनको छोरो यहोशूले मानिसहरूको निम्ति जमिन बन्डा गर्नेछ। 18तिनीहरूलाई त्यस काममा मद्दत दिनको लागि हरेक कुलबाट एक जना अगुवा पनि लिनू।” 19-28परमप्रभुले चुन्नुभएका पुरुषहरू यी नै हुन्:
कुल | अगुवा |
---|---|
यहूदा | यपुन्नेको छोरो कालेब |
शिमियोन | अम्मीहूदको छोरो शेमुएल |
बेन्यामीन | किसलोनको छोरो एलीदाद |
दान | योगलीको छोरो बुक्की |
मनश्शे | एपोदको छोरो हन्नीएल |
एफ्राइम | शिप्तानको छोरो कमूएल |
जबूलून | पर्नाकको छोरो एलीजापान |
इस्साखार | अजानको छोरो पल्तिएल |
आशेर | शलोमीको छोरो अहीहूद |
नप्ताली | अम्मीहूदको छोरो पदहेल। |
29कनान देशमा इस्राएलका मानिसहरूका निम्ति जमिन बन्डा गर्नलाई परमप्रभुले खटाउनुभएका पुरुषहरू यी हुन्।
अहिले सेलेक्ट गरिएको:
गन्ती 34: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.