YouVersion लोगो
खोज आइकन

गन्‍ती 31

31
मिद्यानीहरूमाथि विजय
1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्‍यसको सजायँ तिनीहरूलाई दे। त्‍यसो गरिसकेपछि तेरो मृत्‍यु हुनेछ।”
3यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्‍यसको लागि तिनीहरूलाई दण्‍ड देओ। 4हरेक इस्राएल कुलबाट एक-एक हजार पुरुष लडाइँ गर्नलाई पठाओ।”
5हरेक कुलबाट एक हजार मानिस चुनिए र जम्‍मा बाह्र हजार मानिसहरू लडाइँ गर्न तयार भए। 6मोशाले तिनीहरूलाई लडाइँ गर्न पूजाहारी एलाजारका छोरा पीनहासको हुकुममा अगाडि पठाए। पीनहासले पवित्र सर-सामानहरू र सङ्केत दिने तुरहीहरूको जिम्‍मा लिए। 7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानीहरूमाथि आक्रमण गरेर तिनका सबै मानिसहरूलाई मारिदिए। 8तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू– एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे।
9इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्‍तुभाउमाथि कब्‍जा गरे, तिनीहरूका धन-सम्‍पत्ति लुटे। 10तिनीहरूका सहर र छाउनीहरू जलाइदिए। 11तिनीहरूले हात पारेका लुटका सबै माल, कैदी र पशुहरूसमेत लिएर गए 12अनि तिनलाई मोशा, एलाजार र इस्राएलका सारा जनसमुदायको अघि ल्‍याए। त्‍यस बेला तिनीहरू यरीहो र यर्दनको वरिपरि मोआबका मैदानमा छाउनी हालेर बसेका थिए।
इस्राएली सेना फर्कन्‍छ
13मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्‍के। 14लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए। 15तिनले उनीहरूलाई सोधे, “किन तिमीहरूले सबै स्‍त्रीहरूलाई जिउँदै छोडेका छौ? 16#गन्ती 25:1-9याद राख, बालामको आदेश मान्‍ने र पोरमा मानिसहरूलाई परमप्रभु विरुद्ध अविश्‍वासी बनाउने स्‍त्रीहरू नै थिए। त्‍यसले गर्दा परमप्रभुका जनहरूका बीचमा विपत्ति आएको थियो। 17यसकारण हरेक केटालाई र पुरुषसित सहवास गरिसकेकी हरेक स्‍त्रीलाई मार। 18तर कन्‍ये-केटीहरूलाई आफ्‍नो लागि जिउँदै राख। 19तिमीहरू जस-जसले मानिस मारेका छौ वा लाश छोएका छौ, सात दिनसम्‍म छाउनीदेखि बाहिर बस्‍नुपर्नेछ। तेस्रो र सातौँ दिन तिमीहरूले आफैंलाई र आफूले कैद गरेका स्‍त्रीहरूलाई चोख्‍याउने काम गर। 20कपडाका प्रत्‍येक टुक्रा र छाला वा बाख्राका रौँ तथा काठले बनेका हरचीज पनि चोख्‍याउनू।”
21पूजाहारी एलाजारले लडाइँबाट फर्केका पुरुषहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
22-23सुन, चाँदी, काँसा, फलाम, टिन र सिसाजस्‍ता नडढ्‍ने प्रत्‍येक चीज आगोमा हालेर चोख्‍याइनुपर्छ। अरू सबै थोक पानीद्वारा चोख्‍याउनुपर्छ।
24सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगाहरू धुनुपर्छ। तब तिमीहरू विधिअनुसार शुद्ध हुनेछौ र छाउनीभित्र पस्‍ने अनुमति पाउनेछौ।”
लुटेका मालको बाँडफाँड
25परमप्रभुले मोशालाई भन्‍नुभयो, 26“तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्‍जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्‍ती गर्नू। 27ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि। 28सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्‍यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू। 29ती सबै परमप्रभुलाई चढाइएको विशेष भेटीका रूपमा पूजाहारी एलाजारलाई दिनू। 30बाँकी समाजका मानिसहरूलाई दिइएका भागबाट पचास कैदीबाट एक जना लिनू र त्‍यही हिसाबले गाई-गोरु, गधा, भेडा-बाख्राहरूबाट पनि छुट्ट्याईदिनू। ती सबै परमप्रभुले बास गर्ने पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिनू।” 31परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा र एलाजारले गरे।
32-35सिपाहीहरूले आफैंसित राखेका थोकहरूबाहेक आफ्‍ना अधीनमा लिएका वस्‍तुहरूको सङ्‍ख्‍याको सूची यस प्रकार थियो– ६,७५,००० भेडाबाख्रा, ७२,००० गाई-गोरु, ६१,००० गधा र ३२,००० कन्‍ये-केटीहरू।
36-40त्‍यसको आधा भाग, जुन सिपाहीहरूका हिस्‍सामा पर्थ्‍यो, त्‍यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्‍ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्‍ये एकसट्ठीवटा र १६,००० कन्‍ये-केटीहरूमध्‍ये बत्तीस जना परमप्रभुको कर थिए। 41त्‍यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्‍ति विशेष भेटीको रूपमा खन्‍याए।
42-46सिपाहीहरूको भागमा जति पर्‍यो, त्‍यति नै बाँकी समाजलाई पनि पर्‍यो– ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्‍ये-केटीहरू। 47तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए।
48सेनाका अधिकृतहरू मोशाकहाँ गए 49र यस्‍तो बयान दिए, “हजुर, हामीले आ-आफ्‍ना फौजमा रहेका सिपाहीहरूको गन्‍ती लियौं अनि तीमध्‍ये एक जना पनि हराएको छैन। 50हामीले लिएका सुनका गहनाहरू, बाजु, बाला-औँठी, कानका कुण्‍डल र मालाहरू यहीँ लिइआएका छौं। यी परमप्रभुलाई हाम्रा प्राणको मोल स्‍वरूप टक्र्याउँदछौं र उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।” 51मोशा र एलाजारले ती सुन लिए। ती सबै सुनका गरगहना थिए। 52अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो। 53जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे। 54यसरी मोशा र एलाजारले सुनचाहिँ पवित्र पालमा लगे। परमप्रभुले इस्राएलीहरूको रक्षा गरून् भनेर तिनीहरूले सुन त्‍यहाँ पुर्‍याएका थिए।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 31: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्