गन्ती 10
10
चाँदीका तुरहीहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना। 3जब दुवै तुरही लामो आवाज गरेर फुकिन्छन्, सबै इस्राएलीहरू म बास गर्ने पवित्र पालको ढोकामा तेरो अगाडि भेला हुनेछन्। 4तर जब एउटै तुरही मात्र फुकिन्छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्। 5जब छोटो आवाज गरेर तुरही फुकिन्छ, पूर्वपट्टि छाउनी लाएर बसेका कुलहरू अघि बढ्नेछन्। 6दोस्रोचोटि छोटो आवाज गरेर तुरही फुकिँदा दक्षिणपट्टि रहेका कुलहरू हिँड्नेछन्। यसरी छाउनी उठाउनलाई छोटो आवाज गरी तुरही फुकिनेछ। 7तर जन-समूहलाई एक ठाउँमा भेला गर्नलाई लामो आवाज गरी तुरही फुक्नुपर्नेछ। 8हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्।
“आउने सदाकालको निम्ति यी नियमहरू मान्नुपर्छ। 9जब तिमीहरूमाथि दमन गर्ने शत्रुको सामना गर्दै आफ्नो देशमा लडाइँ गर्दछौ, लडाइँको सङ्केत दिँदै ती तुरहीहरू बजाओ। म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा गर्नेछु र शत्रुदेखि तिमीहरूको रक्षा गर्नेछु। 10रमाहटका बेलामा पनि औंसीको चाड र अरू धार्मिक चाडका बेलामा, जब तिमीहरू होमबलि र मेलबलिहरू चढाउँछौ, त्यस बेला तुरही बजाउनू। तब म तिमीहरूलाई सहायता गर्न सम्झनेछु। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
इस्राएलीहरूले छाउनी उठाउँछन्
11इस्राएलीहरूले मिश्र छोडेको दोस्रो वर्षमा दोस्रो महिनाको बीसौँ दिन परमप्रभुले बास गर्ने पवित्र पालको माथिबाट बादल सर्यो 12र तिनीहरूले सीनै उजाड-स्थानबाट आफ्नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो।
13परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरू हिँड्न थाले। 14जतिचोटि तिनीहरू अघि बढ्थे, तिनीहरू एउटै पङ्क्ति बाँधेर हिँड्थे। अघि-अघि यहूदाका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीनादाबका छोरा नहशोनको हुकुममा हुल-हुल गरी हिँड्थे। 15सूआरका छोरा नतनेलका हुकुममा इस्साखार कुल 16र हेलोनका छोरा एलीआबका हुकुममा जबूलून कुल हिँड्थे।
17तब पवित्र पाल उठाइन्थ्यो र गेर्शोन र मरारी वंशहरू ती बोकेर हिँड्थे।
18त्यसपछि रूबेनका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू शदेऊरका छोरा एलीसूरका हुकुममा हुल-हुल गरी हिँड्थे। 19सूरीशद्दैका छोरा शलूमीएलका हुकुममा शिमियोन कुल 20र दूएलका छोरा एल्यासापका हुकुममा गाद कुल हिँड्थे।
21तब लेवी कहातको गोत्र पवित्र सर-सामानहरू बोकेर हिँड्थे। तिनीहरू नयाँ छाउनीमा आइपुग्दा पवित्र पाल स्थापना भइसकेको हुन्थ्यो।
22त्य पछि एफ्राइम कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीहूदका छोरा एलीशामाका हुकुममा हुल-हुल गरी पङ्क्तिमा हिँड्थे। 23पदासूरको छोरो गमलिएलका हुकुममा मनश्शे कुल 24र गिदेओनीका छोरा अबीदानका हुकुममा बेन्यामीन कुल हिँड्थे। 25सबै दलहरूको पछि हिँड्ने दानका कुलले बोकेका दलको झन्डामुनि रहनेहरू अम्मीशद्दैका छोरा अहीएजेरका हुकुममा हुल-हुल गरी पङ्क्तिमा हिँड्थे। 26ओक्रानका छोरा पगीएलका हुकुममा आशेर कुल 27र एनानका छोरा अहीराका हुकुममा नप्ताली कुल हिँड्थे। 28जतिपल्ट इस्राएलीहरू छाउनी उठाएर हिँड्थे, तिनीहरू यही एकै प्रकारले हुल-हुल गरी पंक्ति बाँधेर हिँड्थे।
29मोशाले मिद्यानी यित्रोका छोरा अनि आफ्ना जेठान होबाबलाई भने, “परमप्रभुले हामीलाई दिन्छु भन्नुभएको ठाउँमा हामी जान लागेका छौं। परमप्रभुले इस्राएलीहरूलाई फलिफाप गराउने प्रतिज्ञा गर्नुभएको छ। तपाईं हामीसित आउनुहोस्। हामी आफ्ना फलिफाप तपाईंसित बाँड्नेछौं।”
30होबाबले भने, “अहँ, म आफ्नै देशमा फर्कनेछु।”
31मोशाले भने, “हामीलाई नछोड्नुहोस्। यस उजाड-स्थानमा हामी कुन ठाउँमा पाल हाल्न सक्छौं, तपाईंलाई थाहा छ। तपाईं हाम्रो बाटो देखाउने मानिस बन्न सक्नुहुन्छ। 32तपाईं हामीसित आउनुभयो भने परमप्रभुले हामीलाई जति आशिष्हरू दिनुहुन्छ, ती तपाईंसित बाँड्नेछौं।”
इस्राएलीहरूले यात्रा सुरु गर्छन्
33इस्राएलीहरूले पवित्र पर्वत सीनैबाट बिदा भएपछि तीन दिनसम्म यात्रा गरे। परमप्रभुको करारको सन्दुक तिनीहरू बास बस्ने ठाउँ खोज्ने विचारले सधैँ तिनीहरूको अघि-अघि लगिन्थ्यो। 34हरेक छाउनीबाट जब तिनीहरू अघि बढ्थे, परमप्रभुको बादलले दिउँसो तिनीहरूमाथि छाया पार्थ्यो।
35 #
भजनसंग्रह 68:1
करारको सन्दुक बोक्नेहरू हिँडेपछि मोशाले सधैँ भन्थे, “परमप्रभु, उठ्नुहोस्! आफ्ना बैरीहरू छरपष्ट पार्नुहोस् र तपाईंलाई घृणा गर्नेहरूलाई धपाउनुहोस्!” 36करारको सन्दुक थामिंदा तिनले भन्थे, “परमप्रभु! इस्राएलका हजारौं-हजार परिवारकहाँ तपाईं फर्केर आउनुहोस्।”
अहिले सेलेक्ट गरिएको:
गन्ती 10: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.