YouVersion लोगो
खोज आइकन

मर्कूस 9:14-29

मर्कूस 9:14-29 सरल नेपाली

उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आइपुग्‍दा वरिपरि मानिसको घुइँचो लागेको थियो र धर्म-गुरुहरूले चेलाहरूसँग बहस गरिरहेका थिए। येशूलाई देख्‍नेबित्तिकै मानिसहरू छक्‍कै परेर उहाँको स्‍वागत गर्न दौडिए। अनि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “के कुराको बारेमा बहस गर्दै छौ?” मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्‍ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्‍याएको छु। भूत लागेको हुनाले ऊ बोल्‍नै सक्‍दैन। भूतले उसलाई पक्रिने बेलामा ऊ भूइँमा पछारिन्‍छ, मुखभरि फीँज काढ्छ, दाह्रा किट्छ र कक्रिन्‍छ। मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनेर बिन्‍ती गरें तर उहाँहरूले सक्‍नुभएन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “कस्‍तो विश्‍वास नभएका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेलसम्‍म सहिरहने? खै त्‍यसलाई मकहाँ ल्‍याओ।” तिनीहरूले केटालाई येशूकहाँ पुर्‍याए। येशूलाई देख्‍नासाथ भूतले केटालाई मुर्च्‍छा पारेर भूइँमा पछार्‍यो। केटो मुखभरि फींज काढ्दै यता र उता लडीबडी गर्न लाग्‍यो। अनि येशूले बुबाचाहिँलाई सोध्‍नुभयो, “यसलाई यस्‍तो भएको कति भयो?” ‘बालककालदेखि नै यस्‍तो भएको हो’ भनेर बुबाले जवाफ दिए। “भूतले उसलाई घरीघरी आगो र पानीमा पारेर मार्न खोज्‍छ। हजुर! तपाईंले सक्‍नुहुन्‍छ भने हामीमाथि दया गरेर उपकार गरिदिनुहोस्!” येशूले तिनलाई भन्‍नुभयो, “सक्‍नुहुन्‍छ भने भनी किन भन्‍छौ? विश्‍वास गर्नेलाई त सबै कुरा हुन सक्‍छ।” यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्‍वास गर्छु। मेरो कमजोर विश्‍वासलाई मद्दत गर्नुहोस्!” मानिसहरू आफूतिर ओइरिन लागेको देखेर येशूले भूतलाई हकार्दै भन्‍नुभयो, “ए लाटो र बहिरो पार्ने भूत, यो केटाबाट निस्‍केर आइज र फेरि त्‍यसभित्र नपस्।” तब त्‍यो भूत चिच्‍च्‍याउँदै र केटालाई मुर्च्‍छा पार्दै निस्‍केर गयो। केटा भने मरेको जस्‍तै भयो र सबैले “लौ केटो त मर्‍यो” भन्‍न थाले। तर येशूले उसको हात समाएर उठाउनुभयो र केटो जुरुक्‍क उठ्यो। घरभित्र पसेपछि चेलाहरूले एकान्‍तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्‍यस भूतलाई किन निकाल्‍न सकेनौं?” त्‍यस किसिमको भूत त प्रार्थनाद्वारा मात्र निकाल्‍न सकिन्‍छ, अरू कुनै उपाय छैन भनेर येशूले जवाफ दिनुभयो।

मर्कूस 9 पढ्नुहोस्