YouVersion लोगो
खोज आइकन

मर्कूस 4:21-41

मर्कूस 4:21-41 सरल नेपाली

येशूले भन्‍दैजानुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि या खाटमुनि राख्‍छ र? बत्ती बालेर त अग्‍लो ठाउँमा पो राखिन्‍छ। त्‍यसरी नै गुप्‍तमा राखिएका कुरा जे-जति छन्, ती सबै खुल्‍ला पारिनेछन् र बुझ्‍न नसकिएका कुरा जे-जति छन्, ती सबै बुझ्‍न सकिनेछन्। जसको कान छ, त्‍यसले सुनोस्!” अनि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “सुनेका कुरामा ध्‍यान देओ! जुन पाथीले अरूलाई भरेर दिन्‍छौ, त्‍यही पाथीले तिमीलाई पनि भरेर दिइनेछ। अझ धेरै पनि दिइनेछ किनभने जोसँग छ, त्‍यसलाई अझै दिइन्‍छ, तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्‍छ।” येशूले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य एउटा मान्‍छेले आफ्‍नो बारीमा बीउ छरेकोजस्‍तो हुन्‍छ। ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्‍छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन। माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्‍ने बनाउँछ। पहिले कलिलो टुसा निस्‍कन्‍छ, बढ्छ अनि बाला लाग्‍छ। बाली पाकेपछि भने त्‍यसले हँसिया लगाएर बाली काट्‍न थाल्‍छ किनभने फसल उठाउने बेला भइसकेको हुन्‍छ। “फेरि परमेश्‍वरको राज्‍य अरू केसँग दाँजौं? कुन दृष्‍टान्‍त भनेर यसबारे बुझाऊँ? यो यस्‍तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्‍छेले त्‍यो बीउ बारीमा रोप्‍छ। त्‍यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्‍छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्‍छन्।” मानिसहरूले परमेश्‍वरको शिक्षा बुझ्‍न सकून् भनेर येशूले यस्‍तै धेरै दृष्‍टान्‍त बताउनुभयो। मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्‍टान्‍त नभनी सिकाउनुभएन। तर आफ्‍ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहुन्‍थ्‍यो। त्‍यही दिन बेलुकीपख येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।” चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए। अचानक तालमा ठूलो आँधी चल्‍यो र छालहरू उर्लिएर नाउ पानीले भरिन लाग्‍यो। येशूचाहिँ सिरानी हालेर नाउको पछाडिपट्टि निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई उठाएर भने, “गुरु, हामी त मर्न लाग्‍यौं, तपाईंलाई केही फिक्री छैन?” येशूले उठेर आँधी र छालहरूलाई हप्‍काउँदै भन्‍नुभयो, “शान्‍त भइजा! रोकिहाल्!” त्‍यति नै खेर आँधी थामियो र एकदमै शान्‍त भइहाल्‍यो। येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्‍वास?” अनि तिनीहरू अचम्‍म मानेर डराउँदै आपसमा भन्‍न लागे, “उहाँ को हुनुहुन्‍छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्‍दा रहेछन्!”

मर्कूस 4 पढ्नुहोस्