येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। त्यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। तिनी अल्फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे। येशू लेवीको घरमा पाहुना भएर चेलाहरूसँगै खान लाग्नुभएको थियो। उहाँका पछि लागेका धेरै जना कर उठाउने र अरू पापी मानिसहरू पनि उहाँसँगै खान बसे। फरिसी भन्ने कट्टर धार्मिक समूहका केही मानिसहरूले येशूलाई यसरी कर उठाउने मानिस र अरू पापीहरूसँग बसेर खाइरहेका देखेर उहाँका चेलाहरूलाई भने, “उहाँले किन यस्ता कर उठाउने र पापी मानिसहरूसँग बसेर खाएको?” तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ। त्यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।” केही मानिसहरूले बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरू उपवास बसेका बेलामा येशूकहाँ आएर सोधे, “बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के विवाहमा डाकिएका जन्तीहरू भोज नखाईकन जान्छन् र? दुलहासँग हुँदा त कोही पनि भोकै बस्दैनन् नि! तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्टाउनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालाले टाल्दैन। नत्र नयाँ टालो खुम्चिएर पुरानो लुगालाई च्यात्छ र झन् ठूलो प्वाल पारिदिन्छ। “अझै भन्ने हो भने, कसले ताजा दाखमद्य पुरानो छालाको थैलामा राख्छ र? राख्दैन नि! यदि राख्यो भने त थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलामा नै राख्नुपर्छ।” पवित्र विश्रामको दिन येशू गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्थ्यो। जाँदैगर्दा उहाँका चेलाहरूले गहुँका बाला टिप्न लागे। यो देखेर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले येशूलाई भने, “हेर्नुहोस् त! विश्राम दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तपाईंका चेलाहरूले किन गर्दै छन्?” येशूले जवाफ दिएर भन्नुभयो, “दाऊद राजा र उनका साथीहरू हातमा केही नभएर भोकाएको बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्ना साथीभाइहरूलाई पनि खान दिए,।” येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो। त्यसैले म मानव पुत्र पवित्र विश्राम दिनको पनि मालिक हुँ।”
मर्कूस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:13-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू