YouVersion लोगो
खोज आइकन

मर्कूस 16:9-20

मर्कूस 16:9-20 सरल नेपाली

येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्‍नुभएको थियो। उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए। अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्‍याएनन्। त्‍यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्‍लै किसिमसँग देखा पर्नुभयो। तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्‍याएनन्। त्‍यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्‍ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्‍नेहरूका कुरा विश्‍वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। त्‍यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ! विश्‍वास गरेर बप्‍तिस्‍मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्‍वास नगर्नेहरूचाहिँ परमेश्‍वरको सामुन्‍ने दोषी ठहरिनेछन्। अनि विश्‍वास गर्नेहरूसँग यस्‍ता चिन्‍हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्‍नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्‍नेछन्। उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्‍दा तिनीहरू निको हुनेछन्।” चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्‍वर्गमा उचालिनुभयो र उहाँ परमेश्‍वरको दाहिनेपट्टि बस्‍नुभयो। त्‍यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्‍मका कामहरूद्वारा सत्‍य ठहराइदिनुभयो।

मर्कूस 16 पढ्नुहोस्