YouVersion लोगो
खोज आइकन

मर्कूस 15:33-47

मर्कूस 15:33-47 सरल नेपाली

दिउँसो बाह्र बजेदेखि तीन बजेसम्‍म देशभरि नै अँध्‍यारो भयो। तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर मलाई किन त्‍याग्‍नुभयो?” येशू यसरी कराउनुभएको सुनेर त्‍यहाँ उभिनेहरूमध्‍ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।” एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्‍यायो र त्‍यो झुम्रो लट्ठीको टुप्‍पामा अड्काएर येशूको मुखमा राख्‍दै भन्‍यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्‍दारहेछन् कि, हेरौं!” तर त्‍यति नै बेला येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। त्‍यही समयमा मन्‍दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्‍म दुई भाग भएर च्‍यातियो। येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर क्रूसको सामुन्‍ने उभिरहेका रोमी कप्‍तानले भने, “साँच्‍चै यी मानिस त परमेश्‍वरकै पुत्र रहेछन्।” केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्‍म आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए। त्‍यो दिनचाहिँ तयारीको दिन भन्‍ने विश्राम दिनको अघिल्‍लो दिन थियो। अरिमाथिया सहरको योसेफले त्‍यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्‍य थिए। उनले परमेश्‍वरको राज्‍यको बाटो हेरिरहेका थिए। येशू मरिसक्‍नुभयो भनेको सुन्‍दा पिलातस छक्‍क परे। उनले रोमी कप्‍तानलाई बोलाएर ‘येशू पक्‍कै नै मरिसकेका हुन् त’ भनी सोधे। कप्‍तानले पक्‍कै मरेका हुन् भन्‍ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए। योसेफले असल सुती कपडा किनेर ल्‍याए र येशूको लाशलाई क्रूसबाट ओरालेर त्‍यही कपडामा बेरे अनि पहरा खोपेर बनाइराखेको चिहानमा राखे। त्‍यसपछि एउटा ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्‍द गरिदिए। मरियम मग्‍दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए।

मर्कूस 15 पढ्नुहोस्