YouVersion लोगो
खोज आइकन

मर्कूस 14:51-72

मर्कूस 14:51-72 सरल नेपाली

एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे। तर उसले आफ्‍नो लुगै छोडेर नाङ्गै भाग्‍यो। तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्‍यहाँ भेला भए। पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्‍न लागे। मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्‍न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्। येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। त्‍यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्‍तो झूटो दोष लगाए, “मानिसले बनाएको यो मन्‍दिरलाई भत्‍काएर मानिसले नबनाएको मन्‍दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्‍यौं।” तैपनि तिनीहरूको बयान मिलेन। प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्‍नु छैन?” तर येशू चुप नै लाग्‍नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्‍चै पवित्र परमेश्‍वरको पुत्र ख्रीष्‍ट नै होस् त?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ अनि एक दिन तपाईंहरूले म मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्‍वर्गबाट बादलमा आउँदैगरेको देख्‍नुहुनेछ!” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र? यसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनिहाल्‍यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्‍यान सजाय दिनैपर्छ!” सबैले भने तिनीहरूमध्‍ये कति जनाले उहाँलाई थुक्‍न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे। पत्रुस तल आँगनमै बसिरहेका थिए। त्‍यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्‍दैगरेको देखी। उसले पत्रुसलाई नियाल्‍दै हेरेर भनी, “तिमी पनि त नासरतका येशूसँगै थियौ नि, होइन र?” पत्रुसले जवाफ दिए, “होइन, तिमीले यो कस्‍तो कुरा गरेकी, म त केही बुझ्‍दिनँ।” त्‍यसपछि पत्रुस आँगनको ढोकातिर गए र त्‍यति नै खेर भाले बास्‍यो। पत्रुसलाई ढोकानेर पनि देखेर त्‍यस नोकर्नीले त्‍यहाँ भएका मानिसहरूलाई फेरि भनी, “यिनी पनि येशूकै चेला हुन्!” तर पत्रुसले फेरि पनि होइन भने। केही बेरपछि त्‍यहाँ उभिने मानिसहरूले पत्रुसलाई फेरि भने, “अब तिमीले होइन भन्‍न पाउँदैनौ। तिमी पनि गालीली हौ र उनकै चेला हौ।” फेरि पनि पत्रुसले किरिया हालेर भने, “मैले ढाँटेको हो भने परमेश्‍वरको दण्‍ड ममाथि परोस्, तपाईंले भनेको मान्‍छेलाई त म चिन्‍दै चिन्‍दिनँ।” त्‍यसो भन्‍नेबित्तिकै अर्को चोटि पनि भाले बासिहाल्‍यो र ‘भाले दुई पटक बास्‍नुभन्दा अघि तिमीले मलाई तीन पल्‍टसम्‍म चिन्‍दै चिन्‍दिनँ भन्‍नेछौ’ भनी येशूले भन्‍नुभएको कुरा पत्रुसले सम्‍झे अनि उनी धुरुधुरु रुन लागे।

मर्कूस 14 पढ्नुहोस्