YouVersion लोगो
खोज आइकन

मर्कूस 14:32-64

मर्कूस 14:32-64 सरल नेपाली

त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गरुञ्‍जेल तिमीहरू यहीं बसिराख।” तर पत्रुस, याकूब र यूहन्‍नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्‍यै छट्पटाउन लाग्‍यो। अनि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो। उहाँले यसो भन्‍दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्‍छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइहालेको? तिमी एक घण्‍टा पनि जागा बस्‍न सक्‍दैनौ? तिमीहरूले ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्‍चै आत्‍माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले अघिकै कुरा दोहोर्‍याएर प्रार्थना गर्नुभयो। अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि निदाइरहेका रहेछन्। तिनीहरूले आँखा उघार्नै सकेनन् र तिनीहरूलाई उत्तर दिने कुरा पनि केही आएन। तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्‍नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्‍ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्‍पिइने बेला भइसक्‍यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।” येशूले कुरा गर्दागर्दै बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ त्‍यहाँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही नै येशू हो, त्‍यसलाई नै पक्रिएर पहरा दिई लैजानू।” अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्‍वाइँ खायो। त्‍यति बेला नै तिनीहरूले येशूलाई पक्रे। तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्‍यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका? मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्‍दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्‍त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!” त्‍यति नै खेर सबै चेलाहरू येशूलाई छोडेर भागिहाले। एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे। तर उसले आफ्‍नो लुगै छोडेर नाङ्गै भाग्‍यो। तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्‍यहाँ भेला भए। पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्‍न लागे। मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्‍न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्। येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन। त्‍यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्‍तो झूटो दोष लगाए, “मानिसले बनाएको यो मन्‍दिरलाई भत्‍काएर मानिसले नबनाएको मन्‍दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्‍यौं।” तैपनि तिनीहरूको बयान मिलेन। प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्‍नु छैन?” तर येशू चुप नै लाग्‍नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्‍चै पवित्र परमेश्‍वरको पुत्र ख्रीष्‍ट नै होस् त?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ अनि एक दिन तपाईंहरूले म मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्‍वर्गबाट बादलमा आउँदैगरेको देख्‍नुहुनेछ!” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र? यसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनिहाल्‍यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्‍यान सजाय दिनैपर्छ!” सबैले भने

मर्कूस 14 पढ्नुहोस्