YouVersion लोगो
खोज आइकन

मर्कूस 13:1-13

मर्कूस 13:1-13 सरल नेपाली

येशू मन्‍दिरबाट निस्‍कन लाग्‍नुहुँदा एक जना चेलाले भने, “हेर्नुहोस् त गुरु, कति ठूला-ठूला ढुङ्गाहरू! कति भव्य भवनहरू!” अनि येशूले भन्‍नुभयो, “यी भवनहरू देखेका छौ, होइन? तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।” येशू मन्‍दिरको पारिपट्टि जैतुन डाँडामा बसिरहनुभएको थियो। त्‍यति बेला पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियास सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईंले भन्‍नुभएका कुराहरू पूरा हुन आँटेका छन् भनी हामीले कसरी थाहा पाउन सक्‍नेछौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्! धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्‍दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो। “तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्‍याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्‍याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। अन्‍त हुनुअघि सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाइसकेको हुनु नै पर्छ। तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा के भन्‍ने हो भनेर पहिले नै सुर्ता नगर। तिनीहरूको अगाडि उभिएको बेलामा तिमीहरूले जे पाउनेछौ, त्‍यही भन किनभने त्‍यति बेला तिमीहरूले आफ्‍नै तर्फबाट बोल्‍नेछैनौ तर पवित्र आत्‍माले नै तिमीहरूद्वारा बोल्‍नुहुनेछ। “त्‍यति बेला मानिसहरूले आफ्‍नै दाजुभाइहरूलाई मार्न सुम्‍पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्। मेरै कारणले गर्दा तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्।

मर्कूस 13 पढ्नुहोस्