YouVersion लोगो
खोज आइकन

मर्कूस 11:1-11

मर्कूस 11:1-11 सरल नेपाली

यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेम नजिकै जैतुन डाँडानेरको बेथफागे र बेथानिया भन्‍ने गाउँमा आइपुग्‍नुभयो। त्‍यहाँदेखि येशूले दुई जना चेलाहरूलाई यसो भन्‍दै पठाउनुभयो, “त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले कहिल्‍यै पनि कोही नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ। यदि कसैले ‘यो के गरेको?’ भनेर सोध्‍यो भने, ‘यो प्रभुलाई चाहिएको छ, उहाँले चाँडै नै फर्काइदिनुहुनेछ’ भन।” तिनीहरू गए र त्‍यो बछेडा बाटोनेर एउटा घरको ढोका अगाडि बाँधिराखेको भेट्टाए। त्‍यसलाई फुकाउन लाग्‍दा नजिकै उभिएका मानिसहरूले तिनीहरूलाई सोधे, “त्‍यो गधालाई फुकाएर के गर्दै छौ?” येशूले भनेजस्‍तै चेलाहरूले जवाफ दिए अनि त्‍यहाँ भएका मानिसहरूले गधाको बछेडा लैजान दिए। चेलाहरूले त्‍यस गधालाई येशूकहाँ ल्‍याएर त्‍यसमा आफ्‍ना लुगाहरू ओछ्‌याइदिए अनि येशू त्‍यसमाथि चढ्‍नुभयो। धेरै मानिसहरूले आ-आफ्‍ना खास्‍टाहरू फुकाएर बाटोमा ओछ्याइदिए र अरू कतिले चाहिँ पाखाबाट रूखका स्‍याउला ल्‍याएर ओछ्याइदिए। येशूको अघि र पछि लाग्‍ने मानिसहरूले यसो भन्‍दै जय-जयकार गर्न थाले, “परमेश्‍वरको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! अब हाम्रा पुर्खा दाऊद राजाको राज्‍य आउन लागेको छ। उहाँकै राज्‍यको जय होस्! सबैभन्दा माथि स्‍वर्गमा बास गर्नुहुने परमेश्‍वरको जय होस्!” यसरी यरूशलेममा आइपुग्‍नुभएपछि येशू मन्‍दिरमा पस्‍नुभयो। उहाँले मन्‍दिरमा चारैतिर हेर्नुभयो। तर अबेर भएकोले आफ्‍ना चेलाहरूलाई लिएर बेथानिया गाउँमा जानुभयो।

मर्कूस 11 पढ्नुहोस्