त्यसपछि जब्दियाका दुई छोरा याकूब र यूहन्ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्ती चढाउन आएका हौं।” “भन त के चाहियो?” येशूले सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।” येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, मैले पिउनुपर्ने घुड्को तिमीहरूले पनि पिउनेछौ र मैले लिनुपर्ने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।” यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए। अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।”
मर्कूस 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 10:35-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू