YouVersion लोगो
खोज आइकन

मत्ती 9:18-38

मत्ती 9:18-38 सरल नेपाली

येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्‍दै एउटा यहूदी शासक त्‍यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्‍ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।” येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। त्‍यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथा लागेकी स्‍त्रीले पछिल्‍तिरबाट आएर येशूको लुगाको छेउ छोइन् किनभने तिनलाई ‘उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुने थिएँ’ भन्‍ने लागेको थियो। अनि येशूले फरक्‍क पछिल्‍तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्‍नुभयो, “छोरी, साहस गर। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यति नै खेर ती स्‍त्री निको भइहालिन्। त्‍यसपछि येशू यहूदी शासकका घरमा पुग्‍नुभयो। उहाँले त्‍यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्‍नुभयो। तिनीहरूलाई येशूले भन्‍नुभयो, “तिमीहरू सबै बाहिर गइदेओ त। यो नानी त खालि निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्‍नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। त्‍यसपछि देशभरि नै यसको बारेमा चर्चा चल्‍यो। येशूले त्‍यो ठाउँ छोडेर जानुहुँदा बाटोमा दुई जना अन्‍धाहरूले उहाँलाई पछ्याएर कराउँदै भने, “हे दाऊद वंशका येशू, हामीलाई दया गर्नुहोस्।” येशू घरमा पुगेपछि ती दुई अन्‍धाहरू पनि त्‍यहीँ आइपुगे। येशूले तिनीहरूलाई सोध्‍नुभयो, “के मैले तिमीहरूलाई निको पार्न सक्‍छु भन्‍ने तिमीहरूलाई विश्‍वास छ?” तिनीहरूले भने, “छ, प्रभु।” तब येशूले तिनीहरूका आँखा छुँदै भन्‍नुभयो, “लौ त, त्‍यसो भए तिमीहरूले विश्‍वास गरेजस्‍तै होस्।” र तिनीहरू देख्‍ने भए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “होश राख है! यो कुरा कसैलाई पनि नभन्‍नू।” तर तिनीहरू त्‍यहाँबाट गएर उहाँको बारेमा झन् सबैतिर सुनाइदिए। तिनीहरू गएपछि मानिसहरूले एक जना भूत लागेर लाटो भएको मानिसलाई येशूकहाँ ल्‍याए। येशूले भूत निकाल्‍नेबित्तिकै त्‍यो मानिस बोल्‍ने भयो अनि मानिसहरूले छक्‍क पर्दै भन्‍न लागे, “यस्‍तो त हामीले इस्राएलमा कहिल्‍यै देखेका थिएनौं।” तर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्‍ने शक्ति दिइएको हो।” येशूले सबै सहर र गाउँका सभाघरमा शिक्षा दिँदै परमेश्‍वरको राज्‍यको सुसमाचार सुनाउनुभयो र मानिसहरूका सबै रोग-बिमार निको पार्नुभयो। मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्‍तै दु:ख पाएका लाचार मानिसहरू थिए। उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हेर, उठाउनुपर्ने बाली त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। तिमीहरूले बालीको धनीसँग बाली बटुल्‍ने खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्‍ती गर।”

मत्ती 9 पढ्नुहोस्