येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।” येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।
ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।”
येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई।
जब येशू त्यस शासकको घरमा पस्नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो। अनि भन्नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए। भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी। यो कुराको खबर त्यस मुलुकभरि फैलियो।
येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
जब उहाँ घरभित्र पस्नुभयो, ती दृष्टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?”
तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।”
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।” तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।
उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो। अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”
तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”
येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो। भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”