YouVersion लोगो
खोज आइकन

मत्ती 9:14-26

मत्ती 9:14-26 सरल नेपाली

त्‍यसपछि बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्‍छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्‍दैनन्, किन?” येशूले जवाफ दिनुभयो, “के विवाहको भोजमा दुलहा तिनीहरूसित छउञ्‍जेल जन्‍तीहरूले विलाप गरेर उपवास बस्‍छन् र? तर त्‍यस्‍ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्‌याइनेछ, तब पो तिनीहरू उपवास बस्‍नेछन्। “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालोले टाल्‍दैन। नत्र नयाँ टालो खुम्‍चिएर लुगा च्‍यातिन्‍छ र झन् ठूलो प्‍वाल पो पारिदिन्‍छ। “यसै गरी ताजा दाखमद्य ल्‍याएर पुरानो छालाको थैलोमा राखिंदैन! यदि राखियो भने छालाको थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्‍छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलोमा नै राखिन्‍छ अनि दुवै जोगिन्‍छन्।” येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्‍दै एउटा यहूदी शासक त्‍यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्‍ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।” येशू उठेर उनीसँगै जानुभयो र चेलाहरू पनि उहाँसँगै गए। त्‍यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथा लागेकी स्‍त्रीले पछिल्‍तिरबाट आएर येशूको लुगाको छेउ छोइन् किनभने तिनलाई ‘उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुने थिएँ’ भन्‍ने लागेको थियो। अनि येशूले फरक्‍क पछिल्‍तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्‍नुभयो, “छोरी, साहस गर। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यति नै खेर ती स्‍त्री निको भइहालिन्। त्‍यसपछि येशू यहूदी शासकका घरमा पुग्‍नुभयो। उहाँले त्‍यहाँ शोकका बाजा बजाउने र रुवाबासी गर्ने मानिसहरूलाई देख्‍नुभयो। तिनीहरूलाई येशूले भन्‍नुभयो, “तिमीहरू सबै बाहिर गइदेओ त। यो नानी त खालि निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँको हाँसो गरे। तर उहाँले ती मानिसहरूलाई हटाउनुभयो र भित्र पस्‍नुभयो। उहाँले नानीलाई हातमा समातेर उठाउनुभयो अनि ऊ बिउँती। त्‍यसपछि देशभरि नै यसको बारेमा चर्चा चल्‍यो।

मत्ती 9 पढ्नुहोस्