“सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्छन्। सानो ढोका र साँघुरो बाटोचाहिँ अप्ठ्यारो हुन्छ, तर यसले नै जीवनमा पुर्याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्छन्। “नक्कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्दा ब्वाँसाजस्ता हुन्छन्। तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्नेछौ। के काँडाको झ्याङमा अङ्गुर फल्छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्छ। सप्रेको बोटमा त फल पनि सप्रेकै फल्छ। तर किक्रिक्क परेको बोटमा कसरी फल सप्रिन सक्छ र? नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ। “मलाई प्रभु, हे प्रभु भन्ने सबैले परमेश्वरको राज्यमा पस्न पाउनेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, ‘प्रभु, हे प्रभु, के हामीले तपाईंकै नाउँमा परमेश्वरको तर्फबाट बोलेनौं र? के तपाईंको नाउँ लिएर भूतहरू निकालेनौं र? के तपाईंको नाउँमा अचम्म-अचम्मका कामहरू गरेनौं र?’ त्यति बेला म तिनीहरूलाई भन्नेछु, ‘ए दुष्ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’ “साँच्चै, मैले भनेका यी कुरा सुनेर मान्नेचाहिँ आफ्नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्तै हुन्छ। घर बनाएपछि बाढी आयो, हुरी चल्यो, तर जग बलियो भएकोले घर ढलेन। तर मैले भनेका कुरा सुनेर पनि नमान्नेचाहिँ बालुवामाथि घर बनाउने मूर्ख मानिसजस्तै हुन्छ। घर बनाएपछि पानी पर्यो, बाढी आयो, हुरी चल्यो अनि त्यसको घर ढलेर भताभुङ्गै भयो।” येशूले चेलाहरूलाई यसरी शिक्षा दिनुभएको सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्थ्यो।
मत्ती 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 7:13-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू