“तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ। “परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।] “तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन। “नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। त्यसो गर्दा मानिसले होइन, तर गुप्तमा हुनुहुने परमेश्वर पिताले मात्रै तिमी उपवास बसेको देख्नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 6:5-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू