त्यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! तैपनि अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।”
त्यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे।
तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए। पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, “यस मानिसले त ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा नै फेरि बनाउन सक्छु’ भन्थ्यो।”
अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?” तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?” येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।”
यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?”
त्यस बेलासम्म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” भनेर आँगनको ढोकातिर गए।
ढोकानेर अर्की एउटी नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!”
केही बेरपछि त्यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्छ नि!” अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!”
त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।