YouVersion लोगो
खोज आइकन

मत्ती 26:20-54

मत्ती 26:20-54 सरल नेपाली

येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्‍नुभयो। खाइरहँदा येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्‍यो र एक-एक जनाले “साँच्‍चै मलाई त भन्‍नुभएको होइन प्रभु?” भनी सोधे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्‍नेले मलाई पक्राइदिनेछ। धर्मशास्‍त्रमा लेखिएजस्‍तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्‍यसले त बरु जन्‍मै नलिएको भए बेस हुने थियो!” पक्राइदिने यहूदाले पनि भन्‍यो, “साँच्‍चै मलाई त भन्‍नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तिमी आफैंले नै भन्‍दै छौ।” खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्‍वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्‍नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो तिमीहरू सबैले पिउनू। यो नयाँ करार जोड्‍ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्‍नलाई बगाइनेछ। म तिमीहरूलाई भन्‍छु, मेरो पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्‍जेलसम्‍म म फेरि यो दाखमद्य पिउनेछैन।” अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्‍नुभयो। त्‍यस बेला येशूले चेलाहरूलाई भन्‍नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्‍नेछौ। किनभने धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्‍यै छोड्‍नेछैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, भोलि बिहान भाले बास्‍नुभन्दा अघि नै मलाई चिन्‍दैचिन्‍दिनँ भनेर तिमीले तीनपल्‍टसम्‍म इन्‍कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्‍दिनँ भनेर कहिल्‍यै पनि भन्‍नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्‍यसै भने। त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” तर पत्रुस र जब्‍दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्‍यै दु:ख र पीडामा पर्नुभयो। उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी यसो भन्‍दै प्रार्थना गर्न लाग्‍नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू एक घण्‍टा पनि मेरो लागि जागै बस्‍न सक्‍दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्‍चै आत्‍माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्‍ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्‍छा पूरा होस्।” अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। अनि येशूले तिनीहरूलाई त्‍यत्तिकै छोडेर गई तेस्रोपल्‍ट फेरि अघिजस्‍तै प्रार्थना गर्नुभयो। त्‍यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्‍नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्‍पिने बेला भइसक्‍यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।” येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही येशू हो, त्‍यसलाई नै पक्रिनू’ भनेको थियो। अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्‍वाइँ खायो। येशूले भन्‍नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्‍यो गरिहाल।” त्‍यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे। यो देखेर येशूको एक जना चेलाले आफ्‍नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए। तर येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्‍टनभन्दा पनि धेरै स्‍वर्गदूतहरू पठाइहाल्‍नुहुन्‍थ्‍यो। के तिमी यो हुन नसक्‍ने सम्‍झन्‍छौ? तर यदि मैले मागे भने त धर्मशास्‍त्रमा यस्‍तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्‍छ र?”

मत्ती 26 पढ्नुहोस्