YouVersion लोगो
खोज आइकन

मत्ती 26:20-54

मत्ती 26:20-54 NNRV

साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्‍नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्‍येकले उहाँलाई सोध्‍न लागे, “प्रभु, के त्‍यो म हुँ?” अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्‍त्रमा लेखेबमोजिम जानेछ। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्‍यो मानिस त नजन्‍मिएकै भए त्‍यसको निम्‍ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्‍यो, “गुरुज्‍यू, के त्‍यो म हुँ?” उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमी आफैले भन्‍यौ।” तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ। तर म तिमीहरूलाई भन्‍दछु, कि दाखको यस फलबाट म तबसम्‍म पिउनेछैनँ, जबसम्‍म आफ्‍ना पिताको राज्‍यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्‍केर जानुभयो। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्‍ट हुनेछन्‌।’ तर म मृत्‍युबाट जीवित भएपछि तिमीहरूभन्‍दा अगि गालीलमा जानेछु।” पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्‍यै पछि हट्‌नेछैनँ।” येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, आजै राती भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्‍यसै भने। तब येशू गेतसमनी भन्‍ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्‍टा पनि जागा बस्‍न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्‍ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्‍छा पूरा होस्‌।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।” उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्‍वाइँ खान्‍छु, तिनी नै हुन्, तिनैलाई समात।” तुरुन्‍तै येशूकहाँ गएर त्‍यसले भन्‍यो, “हे गुरु, प्रणाम!” र त्‍यसले उहाँलाई म्‍वाइँ खायो। येशूले त्‍यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्‍यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्‍तारी गरे। येशूको साथमा हुनेहरूमध्‍ये एउटाले हात बढ़ाएर आफ्‍नो तरवार झिक्‍यो, र मुख्‍य पूजाहारीको दासलाई प्रहार गर्‍यो, र त्‍यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌। तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र? तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”