YouVersion लोगो
खोज आइकन

मत्ती 25:15-29

मत्ती 25:15-29 सरल नेपाली

उनले नोकरको खुबीअनुसार एउटालाई पाँच वटा, अर्कोलाई दुई वटा र अर्को एक जनालाई एउटा सुनको सिक्‍का जिम्‍मा लगाएर परदेशतिर लागे। पाँच वटा सुनको सिक्‍का जिम्‍मा लिने नोकरचाहिँ तुरुन्‍तै गएर त्‍यो पैसा व्‍यापारमा लगाइहाल्‍यो र उसले त्‍यसबाट अरू पाँच वटा सुनको सिक्‍का कमायो। त्‍यसै गरी दुई वटा सिक्‍का जिम्‍मा लिने नोकरले पनि अरू दुई वटा सुनको सिक्‍का कमायो। तर एउटा सुनको सिक्‍का जिम्‍मा लिने नोकरले चाहिँ खाडल खनेर त्‍यसलाई लुकाएर राख्‍यो। “धेरै वर्ष बितेपछि ती नोकरहरूको मालिक फर्केर आए र तिनीहरूबाट आफ्‍नो हिसाब लिए। पाँच वटा सुनको सिक्‍का पाउनेले आएर मालिकलाई भन्‍यो, ‘हेर्नुहोस्, हजुरले मलाई पाँच वटा सुनको सिक्‍का दिनुभएको थियो, त्‍यसबाट मैले अरू पाँच वटा कमाएर ल्‍याएको छु।’ मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी थोरै कुरामा पनि भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी आएर मसँग रमाऊ।’ त्‍यसपछि दुई वटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्‍याएको छु।’ मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी पनि आएर मसँगै रमाऊ।’ “त्‍यसपछि एउटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईं कठोर मानिस हुनुहुन्‍छ, तपाईंले आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ र आफूले ननिफनेको अन्‍न पनि बटुल्‍नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थियो। यसकारण तपाईंको डरले गर्दा मैले त तपाईंको सिक्‍का खाडलमा लुकाएर राखें। अब लिनोस् तपाईंको सिक्‍का।’ तब मालिकले त्‍यसलाई भने, ‘ए बदमाश र अल्‍छी नोकर! म आफूले नलगाएको बाली काटेर लिने र आफूले ननिफनेको अन्‍न बटुल्‍ने कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो भने तैँले मेरो पैसा लगेर ब्‍याजमा लगाउनुपर्दैन थियो त? अनि म फर्केर आउँदा केही नभए पनि ब्‍याजसम्‍म त पाउने थिएँ! त्‍यसबाट यो सुनको सिक्‍का खोसेर त्‍यही दश वटा सुनको सिक्‍का हुनेलाई देओ किनभने जोसँग छ, उसलाई अझै दिइन्‍छ र ऊसँग झन् प्रशस्‍त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ।

मत्ती 25 पढ्नुहोस्