YouVersion लोगो
खोज आइकन

मत्ती 23:23-39

मत्ती 23:23-39 सरल नेपाली

“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्‍जनीबाट दश भागको एक भाग परमेश्‍वरलाई चढाउँछौ। तर न्‍याय, दया र विश्‍वासजस्‍ता व्यवस्थाका मुख्‍य कुराहरूको चाहिँ तिमीहरू वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्‍याय, दया र विश्‍वास पनि गर्ने गर। तिमीहरू अन्‍धा अगुवा हौ किनभने तिमीहरूले भुसुनालाई त चाल्‍छौ, तर ऊँटलाई भने निल्‍छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्‍याउन त चोख्‍याउँछौ, तर त्‍यसको भित्र भने स्‍वार्थ र लोभले लुटेर ल्‍याएका कुराहरूले भर्छौ। ए आँखै नभएका फरिसीहरू हो! पहिले कचौराको भित्रपट्टि सफा गर अनि बाहिरपट्टि पनि सफा हुनेछ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्‍तै छौ। त्‍यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्‍छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्‍छ। त्‍यसै गरी बाहिरबाट हेर्दा भने तिमीहरू मानिसको अगाडि धर्मात्‍माजस्‍तै देखा पर्छौ, तर भित्र भने छल र पापले भरिएका हुन्‍छौ। “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ र परमेश्‍वरको आज्ञामा लागिरहेका पवित्र जनहरूका चिहानहरू पनि सिङ्गार्छौ अनि तिमीहरू भन्‍छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्‍यस्‍तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’ यसो भनेर तिमीहरू आफैंलाई ती अगमवक्ताहरूलाई मार्नेकै सन्‍तान हौं भनी स्‍वीकार गर्छौ! अब तिमीहरूका पुर्खाहरूले सुरु गरेको काम पूरा गर! “ए सर्पहरू र विषालु सर्पका सन्‍तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्‍कने आशा राख्‍छौ? अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्‍य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्‍ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्‍नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्‍म खेद्‌नेछौ। यसले गर्दा निर्दोष हाबिलदेखि मन्‍दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्‍याहका छोरा जकरियासम्‍मको दोष तिमीहरूमाथि पर्नेछ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबैको दोष यस पुस्‍ताको थाप्‍लोमा नै पर्नेछ। “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरले पठाएकाहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुराको पोथीले चल्‍लाहरूलाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई जोगाउन खोजें, तर तैँले मानिनस्। हेर्‌, तेरो घर त्‍यागिनेछ र उजाड हुनेछ। अब म भन्‍छु, जबसम्‍म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस्, तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”

मत्ती 23 पढ्नुहोस्