यरूशलेमतिर जानुहुँदा येशूले आफ्ना बाह्र चेलालाई एकातिर बोलाएर भन्नुभयो, “हेर, हामी यरूशलेम जाँदै छौं। त्यहाँ मानव पुत्रलाई मुख्य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्यान सजाय दिनेछन् अनि अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, कोर्रा लाउनेछन् अनि क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” त्यसपछि जब्दियाका दुई छोरा आफ्नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्ती गरिन्, “मलाई दया गर्नुहोस्।” येशूले तिनलाई सोध्नुभयो, “भन त, के चाहन्छौ?” तिनले भनिन्, “बिन्ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऊन्।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले भन्नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।” यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्नै प्राण त्यागिदिन आएको हुँ।” उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्यो। बाटोको छेउमा दुई जना अन्धाहरू बसिरहेका थिए। येशू त्यही बाटो भएर गइरहनुभएको थाहा पाएर तिनीहरूले कराउँदै भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” मानिसहरूले तिनीहरूलाई ‘चुप लाग’ भनेर हप्काए। तर तिनीहरूले झन् चिच्च्याएर भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” हिँड्दाहिँड्दै येशू टक्क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्यो?” “प्रभु, हामीले आँखा देख्न पाऔं!” तिनीहरूले बिन्ती चढाए। येशूको हृदय मायाले भरियो र उहाँले तिनीहरूका आँखा छोइदिनुभयो। उति नै खेर तिनीहरू आँखा देख्ने भए अनि येशूको पछि लागे।
मत्ती 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 20:17-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू