येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्यो, “हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्छ। मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।” येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।” अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो। पछि चेलाहरूले येशूलाई एकान्तमा सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ। [तर त्यस किसिमको भूत त प्रार्थनाद्वारा र उपवास बसेर मात्र निकाल्न सकिन्छ।”] चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्न भए। येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर बुझाउनुहुन्छ?” “बुझाउनुहुन्छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए। पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?” “अरूहरूबाटै उठाउँछन्,” पत्रुसले जवाफ दिए। येशूले भन्नुभयो, “त्यसो भए निज छोराहरूले कर तिर्नुपर्दैन। तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्यसको मुख खोल। त्यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्योचाहिँ मन्दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।”
मत्ती 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 17:14-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू