YouVersion लोगो
खोज आइकन

मत्ती 14:3-21

मत्ती 14:3-21 सरल नेपाली

पहिले आफ्‍ना भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्‍नालाई बाँधेर थुनामा राखेका थिए किनभने यूहन्‍नाले “आफ्‍नो भाइकी स्‍वास्‍नीलाई यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाएका थिए। यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्‍नालाई अगमवक्ता हुन् भनी मान्‍दथे। हेरोदको जन्‍मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए अनि उनले शपथ हाल्‍दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।” अनि त्‍यस केटीले आफ्‍नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको थालमा राखेर दिनुहोस्।” यो सुनेर हेरोद चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्‍छा पूरा गरिदिए। उनले यूहन्‍नाको टाउको झ्‍यालखानमै काट्‍ने हुकुम दिए। काट्‍ने मानिसले यूहन्‍नाको टाउको थालमा ल्‍याएर त्‍यस केटीलाई दियो अनि केटीले आफ्‍नी आमालाई लगेर दिई। त्‍यसपछि यूहन्‍नाका चेलाहरूले आएर उनको लाशलाई लगेर गाडे अनि गएर येशूलाई यो खबर सुनाइदिए। यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्‍त ठाउँतिर लाग्‍नुभयो। तर येशू जान लाग्‍नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्‍केर पैदलै उहाँको पछि लागे। येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्‍नुभयो। त्‍यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्‍यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो। साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्‍यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्‍यहाँ गएर खानेकुरा किनेर खाऊन्।” येशूले भन्‍नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “हामीहरूसँग त जम्‍मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” येशूले भन्‍नुभयो, “खै रोटी र माछा मकहाँ ल्‍याओ त।” येशूले मानिसहरूलाई चउरमा बस्‍न लगाउनुभयो। त्‍यसपछि पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो अनि स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो। उहाँले रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिनुभयो। चेलाहरूले लगेर मानिसहरूलाई बाँडिदिए। सबैले अघाउञ्‍जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए। स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए।

मत्ती 14 पढ्नुहोस्