YouVersion लोगो
खोज आइकन

मत्ती 11:7-30

मत्ती 11:7-30 सरल नेपाली

यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्‍नाको बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिरहेको निगालोलाई? होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्‍छन्। साँच्‍चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्‍चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले यूहन्‍नाकै बारेमा यसरी भन्‍नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्दा ठूलो मानिस जन्‍मेको छैन। तापनि परमेश्‍वरको राज्‍यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्‍नाभन्दा पनि ठूलो हुन्‍छ। बप्‍तिस्‍मा दिने यूहन्‍नाले प्रचार गरेदेखि अहिलेसम्‍म परमेश्‍वरको राज्‍य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्‍यसमाथि जबरजस्‍तीसँग जित्‍ने प्रयास गर्दै छन्। बप्‍तिस्‍मा दिने यूहन्‍नाको पालोसम्‍म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्‍वरको राज्‍यकै बारेमा बोलेका थिए। तिनीहरूले भनेका कुरा विश्‍वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्‍ना नै हुन्। जसको कान छ त्‍यसले सुनोस्! “हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्‍ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्‍ता छन्– ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ “दाखमद्य नखाने र उपवास बस्‍ने यूहन्‍ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ। अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्‍वरको बुद्धिलाई त्‍यसका फलले नै ठीक ठहराउँछ।” जुन सहरहरूमा येशूले धेरै अचम्‍मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्‍ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्‍यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्‍नुभयो– “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्‍कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्‍मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्‍यहाँका मानिसहरूले अघि नै पश्‍चात्ताप गरेर पापलाई छोड्‍नेथिए अनि पश्‍चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्‍नेथिए। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्‍वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ। “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्‍वर्ग पुगौंला भन्‍छौ? तिमीहरू त नरकमै पुग्‍नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्‍तै अचम्‍मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्‍म पनि रहिरहने थियो। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्‍ड सहन सक्‍नेहुनेछ।” त्‍यतिखेर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्‍यो। “मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्‍दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्‍दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्‍दछन्। “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्‍छु। मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्‍नो आत्‍मामा आराम पाउनेछौ। हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”

मत्ती 11 पढ्नुहोस्