YouVersion लोगो
खोज आइकन

लूका 8:40-56

लूका 8:40-56 सरल नेपाली

येशू तालको वारिपट्टि आइपुग्‍नुहुँदा मान्‍छेको हुलले उहाँलाई पर्खेर बसिरहेको थियो। तिनीहरूले उहाँको स्‍वागत गरे। एक छिनपछि सभाघरका याइरस भन्‍ने शासक आएर येशूको पाउमा पर्दै ‘मेरो घरमा आइदिनुहोस्’ भनी बिन्‍ती गरे किनभने उनकी एकमात्र बाह्र वर्षकी छोरी मर्न लागेकी थिई। तिनको बिन्‍ती सुनेर येशू तिनीसँग जान लाग्‍नुभयो। येशू जान लाग्‍नुभएको देखेर मानिसहरू चारैतिरबाट खचाखच गरी ओइरन लागे। त्‍यही हुलमा बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथाले दु:ख पाएकी एउटी स्‍त्री पनि थिइन्। तिनले आफ्‍नो भएभरको सम्‍पत्ति उपचारमा खर्च गर्दा पनि कसैले तिनलाई निको पार्न सकेका थिएनन्। तिनले मानिसको घुइँचोमा पछिल्‍तिरबाट आएर येशूको लुगाको छेउ छोइन्। उहाँको लुगा छुनेबित्तिकै तिनको रगत बग्‍ने व्‍यथा निको भइहाल्‍यो। येशूले सोध्‍नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्‍यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्‍तै छ।” तर येशूले भन्‍नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्‍केर गएको मैले थाहा पाएँ।” अब लुकिरहनुनहुने रहेछ भन्‍ने थाहा पाएर ती स्‍त्री डरले काम्‍दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्‍ने भनिन्। येशूले तिनलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, अब शान्‍तिसित जाऊ।” येशूले यसो भन्दाभन्‍दै याइरसका घरबाट एक जना मानिस आएर याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी, अब गुरुलाई दु:ख नदिनुहोस्।” तर यो कुरा सुनेर येशूले याइरसलाई भन्‍नुभयो, “हरेस नखाऊ, विश्‍वास मात्र गर, तिम्री छोरी बाँच्‍नेछे।” याइरसको घर पुगेर येशूले पत्रुस, याकूब, यूहन्‍ना र केटीका आमा-बुबालाई बाहेक अरू कसैलाई पनि भित्र पस्‍न दिनुभएन। त्‍यहाँ जम्‍मा भएका सबैले केटी मरेकोमा रोएर बिलौना गरिरहेका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “नरोओ, ऊ त निदाएकी मात्र छे, मरेकी छैन।” यो कुरा सुनेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए किनभने तिनीहरूलाई केटी मरेकै हो भनेर पक्‍का थाहा थियो। तर येशूले केटीको हात समातेर भन्‍नुभयो, “ए नानी, उठ!” केटीको आत्‍मा फेरि फर्केर आयो र ऊ तुरुन्‍तै उठी अनि येशूले ‘यस केटीलाई केही खानेकुरा दिनू’ भन्‍नुभयो। केटीका आमा-बुबा छक्‍कै परे। तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू!’ भनेर कडा आज्ञा दिनुभयो।

लूका 8 पढ्नुहोस्