एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्वरको शक्ति थियो। मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्याउन कोसिस गरे। तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्तारै येशूको अगाडि ओराले। ती मानिसहरूले यस्तो विश्वास गरेको देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ।” येशूले भन्नुभएको यो कुरा सुनेर धर्म-गुरु र फरिसीहरूले एक-अर्कासँग भन्न लागे, “परमेश्वरको निन्दा गर्ने यो को हो? परमेश्वरले पो पाप क्षमा गर्न सक्नुहुन्छ। मानिसले पनि पाप क्षमा गर्न सक्छ र?” तिनीहरूका मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? त्यस कुँजो मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला, लौ भन? तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” अनि येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो मानिस तुरुन्तै उठ्यो अनि आफ्नो ओछ्यान बोकेर परमेश्वरको प्रशंसा गर्दै घर गयो। तिनीहरू सबैले ज्यादै अचम्म माने र परमेश्वरको यस्तो ठूलो शक्ति देखेर डराए। तिनीहरूले परमेश्वरको प्रशंसा गर्दै भने, “आज हामीले त कस्तो अचम्मको कुरा देख्यौं!” त्यहाँबाट गइरहँदा येशूले लेवी भन्ने एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” लेवीले सबै कुरा छोडेर उहाँको पछि लागे। त्यसपछि लेवीले येशूलाई आफ्नो घरमा भोज खान बोलाए। त्यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए। फरिसी र फरिसीका धर्म-गुरुहरूले गनगनाउँदै येशूका चेलाहरूलाई भने, “तिमीहरू किन कर उठाउने र अरू पापीहरूसँगै बसेर खान्छौ हँ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ! त्यसरी नै म धर्मीलाई होइन, तर पापीलाई पश्चात्ताप गर भनी बोलाउन आएको हुँ।” कति मानिसहरूले येशूलाई भने, “यूहन्नाका चेलाहरू सधैँजसो उपवास बस्छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।” येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्तीहरूलाई केही खानै नदिई पठाउँछौ र? तर त्यस्ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्नेछन्।” येशूले फेरि अर्को उदाहरण पनि दिनुभयो, “कसैले पनि नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। यदि टालिहाल्यो भने नयाँ लुगा पनि बिग्रन्छ र नयाँ टालो पुरानो लुगासँग पनि मिल्दैन। “फेरि कसले ताजा अङ्गुरको मद्य पुरानो छालाको थैलामा राख्छ र? यदि राखिहाल्यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्छ। ताजा अङ्गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्नुपर्छ। हुन त कसैले पनि पुरानो अङ्गुरको मद्य खाएर ताजा अङ्गुरको मद्य खान रुचाउँदैन। उसले भन्छ, पुरानोचाहिँ मीठो हुन्छ।”
लूका 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 5:17-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू